अस्टिन / टेक्सास
उज्यालो नेपालको अभियान लिएर हाल अमेरिकामा रहेका नेपालीहरु संग भेटधाट र संवादमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली बत्तीको उज्यालोले मात्र देस उज्यालो हुन नसकेको बताए । मध्यपूर्व देखि अमेरिका हुदै युरोप सम्म प्रवासमा रहेका नेपालीहरु संगको भेटधाट र संवाद कार्यक्रम लिएर आएका उनी आईतबार टेक्सासको राजधानी अस्टिन आईपुगे ।
आईतबार ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्श द्वारा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा वोल्दै उनले आफु सक्रिय राजनितिमा आउने स्पस्ट संकेत गरे । नेपालमा लामो समय लोडसेडिङको समस्या भोगेका नेपालीलाई लोडसेडिङ हटाएर उज्यालो दिन सफल र कुशल ब्यवस्थापक मानिएका उनले आफु देसको वर्तमान राजनितिक नेतृत्वबाट असन्तुष्ट रहेको प्रस्ट पारे । देसमा नेतृत्व गरिरहेका राजनितिक पार्टीहरु प्रति नरम भएर कटाक्ष गर्दै उनले अव मुलुकमा विश्वासिलो नेतृत्व जन्मनु पर्ने बताए । उज्यालो नेपाल अभियानको आशय प्रस्ट पार्दै घिसिङले यो स्वतन्त्र अभियानलाई साथ दिन अमेरिकावासी नेपालीहरु संग सहयोगको अपेक्षा गरे । उनले भने “यो स्वतन्त्र अभियान हो, यसले मुलुकमा राम्रो नेतृत्व जन्माउने छ, यसमा सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु” । बिजुली बत्तीको उज्यालोले मात्र देस उज्यालो नभएको धारणा राख्दै यो उज्यालो नेपाल अभियानले देसका हरेक क्षेत्रलाई उज्यालो बनाउने उनको दाबी थियो ।
उनले प्रवासमा रहेका नेपालीहरुका नागरिकता र लगानीका अवसर लगाएतका गुनासालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले अहिले नेपालीले नै नेपालमा लगानी गर्ने वातावरण नरहेकोले विदेशीले कसरी लगानी गर्छ भन्ने प्रश्न गर्दै छिमेकी मुलुक भारत र चीन विदेसमा रहेका आफ्ना नागरिकको सिप र विज्ञताले लाभान्वित भएको स्मरण गराए । “तपॉईहरुबाट देसले ठुलो आशा गरेको छ, तपाईहरुको आवाजलाई प्रतिनिधित्व गर्दै मुलुक निर्माणमा सहयोग गर्ने छु यो मेरो कमिटमेन्ट हो” उनले भने । “प्रवासमा बसेपनि तपाईहरु नेपाली हो नेपाली नै भएर बसौ” उनले अगाडि भने । अहिलेका नेपालका कुनै राजनितिक दलहरु प्रति आफ्नो झुकाव नरहेको जिकिर गर्दै उनले आफ्नो अभियानले नया नेतृत्व जन्माऊन सक्ने बताए ।घुमाउरो पारामा उनले २०८४ अघिनै राजनितिमा उत्रन लागेको संकेत गरे । नेपाली जनता प्रति आफुले देखाएको ईमान्दारीमा गर्व गर्दै उनले भने “ मलाई वर्खास्त गरेकोमा गुनासो छैन, जनताले दिएको माया मेरो मुल्याङ्कन हो “। कार्यक्रम कमर्शका अध्यक्ष सिपी पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कुलमान घिसिङलाई टेक्सासको विश्व प्रसिद्ध टोपी र मायाको चिनो प्रदान गरिएको थियो ।
नारायण भण्डारी
