काठमाडौं, १३ चैत्र । मैत्रपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज आइतबार थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार दिउँसो पाँच पैंतालीस बजे चोनबरीकै घरेलु मैदानमा सुरु हुनेछ ।
यस अघि नेपालले मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल दुई शून्य गोल अन्तरले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड गएको हो ।
एसियन कप छनोटमा नेपाल समूह ए मा रहेकाे छ । साे समूहमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले जुन आठमा जोर्डनसँग, जुन ११ मा कुवेतसँग र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
