तुलसीपुर, ४ फागुन । नेपाल दलित संघ तुलसीपुरकाे २८ औ स्थापना दिवस सम्पन्न भएको छ । साेमबार नेपाल दलित संघ तुलसीपुर नगर कमिटी उपाध्यक्ष सुनिता नेपालीको अध्यक्षतामा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवराज आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवराज आचार्यले कांग्रेस रुपान्तरण र पुस्तान्तरण भएर जनता माझ आएको बताउनुभयो । उहाँले अहिलेको जटिल परिस्थितिमा नेपाली कांग्रेसका सभापति युवा नेता गगन थापाको नेतृत्वमा सरकार बनाए मात्र लोकतन्त्रको रक्षा बताउनु भएको छ । साथै उहाँले सबै मतदाताहरुले रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको हाे ।
उक्त कार्यक्रमकाे अवसरमा बिशिस्ट अतिथि दाङ क्षेत्र न. ३ का प्रत्यक्ष उम्मेदवार एवम् पुर्व सिचाइ मन्त्री दिपक गिरीले मतदातालाई काम गरेअनुसार मतकाे प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले दलित समुदायमा भएको सुकुम्बासी समस्या हालसम्म समाधान हुन नसकेको र आफू संसदमा गएमा समाधान गर्ने प्रतिबद्धता गर्नु भएको थियो। बिगत लामो समय देखी दाङका धेरै दलित बस्तिका समस्याका बारेमा आफू जानकार भएको र यो कार्यकालमा सबै समस्या हटाउन आफ्नो प्रतिबद्धता राख्नुभएको थियो ।
उक्त कार्यक्रमका अतिथी संविधान सभा सदस्य बुद्धि राम भण्डारी, नेपाल दलित संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र बिस्वकर्मा, नेपाली कांग्रेस क्षेत्र न. ३ का सभापति जगत खड्का, नेपाल दलित संघका केन्द्रिय सदस्य घनश्याम सेर्पाइलीले बिगतमा भएको छुवाछूतको बिषयमा जानकारी गराउदै अहिले सबै छुवाछुत हटिसकेको र कोहि पनि दलित नभएको सबै हामी खस आर्य भएको कुरा बताउनु भएको थियो। 
नेपाल दलित संघ लुम्बिनी प्रदेशका प्रवक्ता खेमराज बिक (सेन्चुरी)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम नेपाल दलित संघ तुलसिपुर नगर कमिटी सचिव सम्झना परियारले सञ्चालन गर्नु भएको थियो।
