काठमाडौं, १४ चैत्र । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा आर्मीले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट आर्मीले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा आर्मीले २५–८ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटमा आर्मीले २४–२६ ले नतिजा सुम्पियो । आर्मीकी स्पाइकर शान्ति कुमारी थारु प्लेयर अफ दि म्याच भइन् । यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्न सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करण भने एपीएफले भाग लिएको छैन । प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच केहीवेरमा प्रतिस्पर्धा हुँदैछ ।
