काठमाडौं, १४ चैत्र । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा पपुवा न्युगिनीमाथि १५ रनको रोमान्चक जित हात पारेको छ । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.२ दोस्रो ओभरमा १ सय ६८ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका नर्मन भानुवाले २९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको आक्रामक इनिङ खेले। पपुवा न्युगिनीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । दोस्रो बलमा एली नाओलाई रन आउट गराउँदै नेपालले जित निकालेको थियो । नेपालले अन्तिम तीन विकेट एक रन खर्चेर लिएपछि रोमान्चक जित हात पारेको हो । नेपाललाई तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर टोनी उरालाई ५ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।
अर्को ओभरमा सोमपाल कामीले लेगा सियाकालाई आरिफ शेखबाट २१ रनमा क्याच गराए । उनले १० बलमा तीन चौका र एक छक्का प्रहार गरे । मध्यक्रमका ब्याटर चाल्र्स अमिनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड भए । उनले १० बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान सन्दीपको बलमा ठूलो सट खेलेका असाद भाला लङअनमा करण केसीबाट सात रनमा आउट हुन पुगे । सन्दीपले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए ।
बाउले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अभिनाशको बलमा राइली हेकुरे थर्ड म्यानमा सोमपाल कामीबाट ३ रनमा क्याच आउट भए । जेसन किलालाई शून्यमा एलबीडब्लू आउट गरे । सन्दीप लामिछानेले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । अभिनाश बोहराले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिए । करण केसीले चार ओभरमा ४४ रन खर्चेर तीन विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउटबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।
रोहितले ब्यक्तिगत २९ रनमा स्लिपमा क्याच ड्रप हुँदा जीवनदान पाए । दास्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै इनिङ उकासे । आसिफ तीव्र गतिका बलर एली नाओको बलमा एज लागेर विकेटकिपर शिमोन आतीबाट क्याच हुँदा दोस्रो अर्धशतक बनाउन ७ रनले चुके । त्यसपछि भने लगातार विकेट गुमाएको थियो ।१३ औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपर बाटै ३४ रनमा आउट भए । २६ बलमा दुई चौका र एक छक्का प्रहार गरे । १४ औं ओभरको पहिलो बलमा स्विच हिट सट खेलेका दीपेन्द्र असाद भालाबाट चार रनमा क्याच भए ।
बायाँ हाते अलराउन्डर कुशल मल्ल ११ रनमा हाइली हेकुरेको बलमा बोल्ड भए । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । करण सात बलमा दुई छक्कासहित १४ रनमा क्याच आउट भए । आरिफ शेखले २२ बलमा तीन चौका र दुई छक्कासहित ३१ रनमा आउट भए ।पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले दुई दुई विकेट लिए । नर्मन भानुआ, चाद सोपर र राइली हेकुरेले एक एक विकेट लिए । नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ । मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । पपुवा न्युगिनीसँग ओडिआईमा भने नेपाल दुबै खेलमा पराजित भएको थियो ।
