काठमाडौं, १५ चैत्र । मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा पपुवा न्युगिनी (पिएनजी)लाई आठ रनले पराजित गरेको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९।३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका टोनी उराले ३५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । नर्मन भानुवा २५ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा आउट भए । पपुवा न्युगिनीलाई अन्तिम ६ बलमा १५ रन जितको लागि चाहिँएको थियो । पहिला बल शर्विन मुनीआन्दीले डट राख्दा दोस्रो बल लङअनमा नसैन पोकनाले छक्का प्रहार गरे ।
विरनदीपको खुट्टा ल्याडिङ गर्नेक्रममा बाउन्ड्री रेखा छुन पुग्दा छक्का भएको थियो । तर तेस्रो बलमा भने विरनदीपले लङअनमै क्याच लिँदै जित पक्का गराए । स्पिनर पवनदिप सिंहले पपुवा न्युगिनीको शीर्षक्रम धरासय बनाएका थिए । ओपनर असाद भालालाई दोस्रो ओभरको पाँचौं बलमा अमार जहदी हजानबाट ११ रनमा क्याच गराए । चौथो ओभरको तेस्रो बलमा पवनदीपले अर्का ओपनर लेगा सियाकालाई ६ रनमा बोल्ड आउट भए ।
पवनले नै चाल्र्स अमिनीलाई ५ रनमा कट एण्ड बोल्ड आउट भएपछि ३४–३ को अवस्थामा पुगेको थियो । मोहम्मद वाफिकले सेसे बाउलाई शून्यमा बोल्ड आउट गरे । पाँचौं विकेटका लागि टोनी उरा र नर्मन भानुवाले ७४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शर्विन मुनीआन्दीको बलमा उरा एनिल हफिजबाट लङअफमा क्याच भएपछि मलेसिया खेलमा फर्किएको थियो । तल्लोक्रमका शिमोन आतीले १७, चाद सोपरले ८ र पोकनाले ९ रन बनाए ।
मलेसिया मुहम्मद वाफिकले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । पवनदिप सिंहले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । शर्विन मुनीआन्दीले ३।३ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । मलेसिया ओपनर विरनदीपसिंह ५२ बलमा २ चौका र २ छक्कासहित ५९ रनमा अविजित रहे । कप्तान अहमद फैजले ३७ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको योगदान दिए ।
ओपनर जुबैदी जुल्किफ् र विरनदीपले १२ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले ९५ रनको साझेदारी गरेका थिए ।सैद अजिज २६ बलमा ५ चौका र २ छक्कासहित ४७ रन बनाए । पपुवा न्युगिनीका नर्मन भानुवाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । नोसैना पोकनाले १ विकेट लिए । त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले बुधबार मलेसियासँग खेल्नेछ ।
