नेपालमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, सीमित अवसर र भविष्यप्रतिको अन्योलका कारण पछिल्लो केही वर्षमा लाखौं नेपाली युवाहरू विदेशिन बाध्य भएका छन्।नेपालको वर्तमान अवस्थाले युवाहरूलाई नेपालमा भविष्य सुरक्षित छैन, त्यसको लागि विदेशिनुपर्छ भन्ने मनोविज्ञान र भाष्य सिर्जना भएको छ । फलस्वरूप हजारौं युवाहरू विदेशिएका छन्। केही वर्ष पहिलासम्म परम्परागत रूपमा खाडी मुलुक, मलेसिया वा भारत जाने चलन थियो। तर अहिले वैदेशिक रोजगार, अध्ययन र सुनौलो भविष्य निर्माणको लागि युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा र जापान मुख्य गन्तव्य स्थानहरू रहेका छन्। यी देशहरू मध्येमा पनि पछिल्लो समय जापान युवाहरूको मोह र सपनाको केन्द्रबिन्दु बन्न थालेको छ। वार्षिक जापान आउने नेपालीहरूको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिले यसलाई पुष्टि गर्छ। जापानमा हाल विभिन्न भिसामा झन्डै ३ लाखको हाराहारीमा नेपालीहरू रहेका छन्। पछिल्ला वर्षहरूमा जापान सम्मानजनक श्रम, राम्रो कमाइ र सुरक्षित जीवनको प्रतीक झैँ बनेको छ। केही वर्षयता नेपालमा एउटा मौन तर गहिरो प्रवृत्ति विकसित भएको छ—युवाहरूको जापानतर्फ बढ्दो आकर्षण। पछिल्ला दुई दशकयता “जापान जाने” भन्ने शब्द नेपाली युवाहरूको सपनासँग गासिन थालेको छ। गाउँको चिया पसलदेखि शहरका कन्सल्टेन्सीहरूमा, पारिवारिक बैठकदेखि सामाजिक सञ्जालसम्म जापान चर्चाको विषय बनेको छ। आज जापान आउने निर्णय केवल वैदेशिक अध्ययन वा रोजगारीको विषय मात्र रहेन; यो नेपाली समाजको आशा, निराशा र भविष्यप्रतिको असन्तोषसँग गाँसिएको सामूहिक मनोविज्ञान बनेको छ। गाउँका अभिभावकदेखि शहरका शिक्षित युवासम्म, सबैका मुखमा एउटै प्रश्न छ—जापान साँच्चै भविष्य हो कि बाध्यताको अर्को नाम ? जापान अनुशासन, सुरक्षा सहितको श्रम बजार, तुलनात्मक रुपमा स्थिर अर्थतन्त्र र दीर्घकालीन सम्भावनाको प्रतीक बनेको छ। जापान सरकारले विदेशी नागरिकलाई सुरक्षित र सम्मानजनक जीवनयापन गर्न विभिन्न सुविधा र सहयोग उपलब्ध गराएको छ। भिसा प्रणाली व्यवस्थित र स्पष्ट भएकाले कामदार, विद्यार्थी, SSW तथा स्थायी बसोबास भिसा मार्फत जापानमा कानुनी रूपमा बस्न र काम गर्न सकिन्छ। स्वास्थ्य उपचारका लागि राष्ट्रिय स्वास्थ्य बिमा व्यवस्था गरिएको छ, जसले कम खर्चमा उपचार सम्भव बनाउँछ। पेन्सन प्रणालीमार्फत भविष्यको सुरक्षा समेत सुनिश्चित गरिएको छ। साथै, जापानी भाषा सिक्न निःशुल्क कक्षा, सिटी अफिसबाट जीवनयापन सम्बन्धी सहयोग, आपतकालीन सहायता, बालबालिकाको लागि गुणस्तरीय शिक्षा तथा श्रम कानुन अनुसार न्यूनतम ज्याला र श्रमिक सुरक्षाले नेपालीहरूलाई जापानमा सुरक्षित र स्थिर जीवन बिताउन मद्दत पुर्याएको छ। अब हामीले गम्भीर भएर विश्लेषण गर्नुपर्छ कि जापान नेपालीहरूका लागि संघर्षको पहाड हो कि सुनौलो भविष्य ?विगत आठ-नौ वर्षदेखि जापानमा बसेर नजिकबाट बुझ्दा र भोग्दा यो प्रश्नको उत्तर त्यति सजिलो भने छैन। जापानमा जति संघर्ष, समस्या र अप्ठ्याराहरु छन् त्यति नै सम्भावना, अवसर र सुनौलो भविष्यका बाटाहरु पनि प्रशस्त छन्। म जापान आउँदा मनमा धेरै इच्छा र सपनाहरु थिए, तर जापानको बसाइले मलाई जे कुरा सिकायो, त्यो थियो-सपना देख्न सजिलो छ, तर त्यसलाई पूरा गर्न त्यत्तिकै कठिन । अझ त्यसैमा अभ्यस्त हुनु र बाँच्नु निकै गाह्रो कुरा थियो । जापानमा बस्ने साथीहरूका कुरा सुनेर, उनीहरूको लाइफ स्टाइल (विशेषगरी सामाजिक सञ्जालमा आउने उनीहरूका गतिविधि, घुमेका, डुलेका र रमाएका तस्बिर भिडियो र रिलहरू) हेरेर बिस्तारै जापानप्रति मेरो मोह बढिरहेको थियो र मैले मेरो सपनाको देशको रुपमा जापानलाई उभ्याएको थिए। जापानमा आएपछि आफुले भोग्नु परेको भाषाको समस्या, कामको कठिनाइ, एक्लोपन, दुःख र पीडा खासै कसैले सामाजिक सञ्जालमा बाहिर ल्याउँदैनन्, ल्याउन चाहँदैनन्। “नमरी स्वर्ग देखिँदैन”, भन्ने नेपाली उखान जस्तै त्यो जापान आएपछि मात्र थाहा हुन्छ। जापान आउनुअघि धेरै नेपालीले कल्पना गर्छन्—राम्रो काम, धेरै र सजिलो पैसाको आम्दानी, आरामदायी जीवन। तर वास्तविकता भने धेरै फरक हुन्छ। जापानमा कामको गति तीव्र छ, सबै कुरा नियमले चल्छ, समयको अत्यन्तै महत्व हुन्छ र त्यसलाई पालना गरिन्छ, यहाँ काममा गल्ती भयो भने बहाना चल्दैन ! छिटो र धेरै पैसा कमाउने, छोटो बाटो र अवैध उपायले तत्काल फाइदा देखिए पनि भिसाको क्याटगोरी र नियमभन्दा बाहिर काम गर्दा दीर्घकालीन भविष्य जोखिममा पर्न सक्छ। त्यसैले जापान आउनु अगाडि जापनिज भाषा राम्रोसँग अध्ययन गर्ने, जापानको बारेमा नियम-कानुन र यथार्थता बुझ्ने र जस्तोसुकै परिवेशमा पनि म संघर्ष , मेहनत र धैर्य गर्न सक्छु भन्ने मनस्थिति बनाएर आउनुपर्छ। नेपालबाट आउने धेरै युवाहरू ऋण बोकेर आउँछन्। परिवारको जिम्मेवारी, बुवाआमाको विश्वास, समाजको अपेक्षा र आफ्ना सपनाहरुले उनीहरूलाई बाँधेको हुन्छ। प्रत्येक युवाले नेपालबाट जापान आउँदा केवल झोला बोकेर होइन अपेक्षा र आशाको भारी बोकेर आएका हुन्छन् ! जापान पुगेपछि सबै कुरा सहज हुन्छ भन्ने धारणा भने भ्रम मात्र हुनसक्छ, जापानको जीवनशैली कार्य संस्कृति र सामाजिक संरचना हाम्रो कल्पना भन्दा धेरै फरक छ। भाषा नआउँदा दैनिक जीवनदेखि रोजगारीसम्म समस्या आउँछ ! राम्रो काम पाउन, काममा प्रमोसन र सम्मान पाउन, स्वास्थ्य उपचार, कानुनी प्रक्रिया बुझ्न र समाजसँग घुलमिल हुन भाषा महत्त्वपूर्ण साधन हो। जापान प्रवेश गरेको केही महिना मनभित्र द्वन्द चलिरहन्छ, मनमा कुरा खेलिरहन्छ- कि मैले जापान आउने निर्णय सही गरे या गरिन ? किनकि सुरुमा आम्दानी भन्दा खर्च धेरै हुन्छ नेपालबाट आउँदा लिएको ऋण तिर्नुपर्ने प्रेसर, एक्लोपन, भाषाको समस्या, नौलो ठाउँ परिवेश बोल्ने कोही छैन। बाहिर हाँसिरहेको अनुहारभित्र धेरै पीडा र संघर्ष लुकेको हुन्छ। अनि घरबाट आउने फोनहरूमा सोधिन्छ- काम कस्तो छ ? कमाइ त राम्रै होला नि ? बिहान कलेज, दिउँसो र साँझ अबेर रातिसम्म काम, शरीर थकित हुँदा पनि ऋणको प्रेसरले अझै अर्को काम (आरुबाइतो) गर्न पाए हुनथ्यो भन्ने हुन्छ। पछिल्ला वर्षहरूमा जापानमा रहेका नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू बढ्दै गएको तथ्य लुकाउन मिल्दैन। धेरैजसो नेपाली विद्यार्थीहरू पढाइसँगै पार्ट–टाइम काम गर्न बाध्य छन्। कुकहरुका समस्या झन बढि छन्। कम तलब त्यो पनि समयमा नपाइने ! बिहानदेखि रातिसम्मको व्यस्तताले शारीरिक थकान मात्र होइन, मानसिक तनाव पनि बढाउँछ। कतिपय अवस्थामा नेपालीहरुले आत्महत्या गर्न र विद्यार्थीहरू बीचमै पढाइ छाड्न बाध्य भएको उदाहरण पनि भेटिन्छ। पछिल्लो समय जापान सरकारले विदेशीहरूप्रति नियम कानुनहरू अलि जटिल र कडा पारेको छ। विशेषगरी बिजनेस भिसाको लागि ३ करोड लगानी पुर्याउनुपर्ने र वर्किङ भिसाको लागि N-2 लेभलसम्म जापानिज भाषा अनिवार्य गरेको छ भने Visa Apply र थप गर्दा लाग्ने शुल्क पनि बढाएको छ। यो नियमसँगै नेपालीहरूमा चिन्ता र अन्योलता भने अलि बढेको छ ! तर यिनै संघर्षका पहाडहरूले जीवनमा धेरै सिकाउँछ बनाउँछ अनि बिस्तारै जापानकै नियम कानुन र रहनसहन अनुसार बदल्छ। यही आएर मैले समयको पालना गर्न सिके, कामलाई कामको रुपमा जिम्मेवारी निभाउन सके, सबै सानो ठूलो कामलाई गम्भीरतापूर्वक मनैदेखि गर्न र लिन सिके । झन्डै एक वर्षको बसाईपछि बिस्तारै मैले जापानमा समस्या र संघर्षभन्दा अवसर र सुनौलो भविष्य देख्न थाले।जापानले मलाई पैसा मात्र होइन, आत्मविश्वास र अनुशासन दियो ! गुणस्तरमा सम्झौता नगर्ने बानी, टिममा काम गर्ने संस्कार दियो, जुन कुरा थाहा भएर पनि मैले नेपालमा कहिल्यै लागु गरिन। भाषा बुझ्न थालेपछि र काममा अनुभव बढ्दै गएपछि बिस्तारै जापान फरक देखिन थाल्यो। भाषा र सीपमा लगानी गरेपछि अवसर आफैँ देखिन थाल्छ। नेपालीहरूको सङ्ख्या वृद्धिसँगै जापानमा प्रवासी नेपालीहरूका हक, अधिकार सुनिश्चित गर्न र समस्या समाधान गर्न एनआरएनए (NRNA JAPAN) जापान लगायत विभिन्न सामाजिक र राजनीतिक संगठनहरू सक्रिय छन्। जसले विभिन्न कार्यक्रमहरु मार्फत जापानमा नेपालीहरूलाई संगठित गर्ने, सचेतना जगाउने र नेपाली कला-संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्ने काम गरिरहेका छन्। यसरी नेपाली संगठनहरूसँग आबद्ध र घुलमिल हुँदै जाँदा एक्लोपनबाट बाहिर निस्कन सजिलो हुन्छ। दीर्घकालीन रूपमा हेर्दा, स्थायी बसोबास अनुमति, परिवार पुनर्मिलन र बच्चाहरूका लागि गुणस्तरीय शिक्षा जस्ता अवसर पनि जापानले प्रदान गर्छ। तर यी सबै सुविधा सहज छैनन्; निरन्तर प्रयास र कानुनी बाटो आवश्यक हुन्छ। आज जापानमा नेपालीहरू विभिन्न क्षेत्रमा अघि बढिरहेका छन्—सूचना प्रविधि, केयरगिभिङ, उत्पादन उद्योग, होटल व्यवसाय देखि रेमिटेन्स, हलाल फुड, रेस्टुरेन्ट, ब्युटी पार्लर कम्बिनियन स्टोर, तरकारी पसल, ट्राभल लगायत विभिन्न आफ्नै व्यवसायहरू गरिरहेका छन्। नेपाली र विदेशी विद्यार्थीहरूलाई लक्षित गरी नेपाली, अंग्रेजी र जापानिज भाषामा अध्यापन गराउने केही नेपाली विद्यालयहरु पनि सञ्चालनमा रहेका छन्। जापानप्रतिको आकर्षणका मुख्य कारणहरूमा विद्यार्थी भिसामा काम गर्न पाइने सुविधा, तुलनात्मक रूपमा राम्रो आम्दानी, सुरक्षित समाज, सुविधा सम्पन्न जीवन, प्रविधिमा आधारित जीवनशैली र दीर्घकालीन बसोबासको सम्भावना पर्दछन्। यी कारणहरूले जापानलाई “मेहनत गरे भविष्य बन्ने देश” को रूपमा चित्रित गर्न सकिन्छ।जापानलाई अवसर र सुनौलो भविष्यको देश बनाउन चाहनेहरूले भाषामा लगानी, धैर्यता, इमान्दारिता कानुनमा सचेतना, स्वास्थ्य प्रतिको ध्यान र सकारात्मक संगतलाई प्राथमिकता दिनु आवश्यक छ। मेरो विचारमा सधैंका लागि जापानमै बस्नु नै सफलता होइन। जापान सिप सिक्ने र आफूलाई आर्थिक रुपमा सफल बनाउने उपयुक्त देश हो। यहाँको बसाइले नयाँ सीप र सोचको विकास गर्छ जुन नेपालमा फर्केर केही गर्ने सपना बोकेका युवाहरूलाई भविष्यको उचित बाटो तय गर्न मद्दत पुग्दछ।कतिपय युवाहरू जापानलाई सीप सिक्ने थलोका रूपमा प्रयोग गरेर नेपाल फर्किरहेका छन्। सीप र पूँजी लिएर नेपाल फर्कने, जापान–नेपाल व्यापार गर्ने, शिक्षा र अनुभव नेपालमा प्रयोग गर्ने, जापानमा आर्जित सीप, प्रविधि र व्यवस्थापन नेपालमा प्रयोग गर्न सकिने ठूलो सम्भावना छ। तसर्थ जापान न त सम्पूर्ण रूपमा संघर्षको पहाड हो न त सजिलै भेटिने सुनौलो अवसर र भविष्य ! यो एउटा परीक्षा हो—धैर्य, मेहनत, सोच र चरित्रको ! त्यो व्यक्तिको मेहनत,परिश्रम, इमान्दारी, दीर्घकालीन सोच,योजना र धैर्यतामा निर्भर गर्दछ। यस अर्थमा जापान गन्तव्य मात्र होइन, एक प्रकारको प्रशिक्षण केन्द्र पनि हो—जहाँ मानिस आफैँलाई चिन्छ, आफ्नो क्षमता नाप्छ र भविष्यको दिशा तय गर्छ।जापानमा संघर्ष र समस्याको कथा मात्र होइन यही देशले नेपाली युवालाई अनुशासन,समय व्यवस्थापन र श्रमको सम्मान गर्न सिकाएको छ। संघर्षलाई स्वीकार गर्नेहरूका लागि जापान सुनौलो भविष्य निर्माण गर्ने सम्भावनाको देश हो।
बिरेन्द्र पौडेल
