काठमाडौँ, जेठ ६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । भोलि बिहीबार र पर्सी शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
यसैगरी, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
भोलि र पर्सी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्न सक्ने महाशाखाले जनाएको छ ।
