काठमाडाैं, १६ चैत्र । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० को हार चखाएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भयो । खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता बनायो । उनले ब्रुनो गुइमारेसको पासमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा ब्रुनो गुइमारेसले गोल गरेपछि ब्राजिल खेलमा ३–० ले अघि बढ्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ब्राजिलको जित पक्का गरे । यो जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक पुगेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।
छनोटकै अर्को खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । अर्जेन्टिनाका लागि २४औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दा इनर भ्यालेन्सियाले बराबरी गोल फर्काए ।यो बराबरीसँगै अपराजित अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अर्जेन्टिनालाई बराबरीमा रोकेको इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।
अन्य नतिजा
चिलीविरुद्ध उरुग्वे (०–२), पेरुविरुद्ध पाराग्वे (२–०) र भेनेजुएलाविरुद्ध कोलम्विया (०–१)
