काठमाडौं, १७ चैत्र । अमेरिका कतारमा हुने विश्वकप २०२२ मा छनोट भएको छ । बिहीबार अन्तिम खेलमा कोस्टा रिकासँग दुई शून्य गोल अन्तरले पराजित भए पनि अमेरिकाले उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।
अमेरिका सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको थियो । यस्तै तालिकाको चौथो स्थानको कोस्टा रिकाले भने महादेशीय प्लेअफमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । उत्तर अमेरिकी छनोटबाट क्यानडाले शीर्ष स्थानमा रहँदै र मेक्सिकोले दोस्रो स्थानमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे ।
बिहीबार नै भएको अर्को खेलमा मेक्सिकोले एल साल्भाडोरलाई दुई शून्य गोलले पराजित गर्दा क्यानडा पानामासँग एक शून्य गोलले र होन्डुरस जमैकासँग दुई एक गोलले पराजित भयो।
