काठमाडौं, १७ चैत्र। दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध दुई सय चार रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रनको योगफल खडा गर्यो । नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए ।
त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए। यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए । नेपाल आजको खेल जिते एक खेल अगावै फाइनलको टिकट काट्ने छन् ।
