माउन्ट (रसमोर), असार २० गते । संयुक्त राज्य अमेरिकाको २५० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिनुभएको छ । उहाँले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादी’ बाट चुनौती बढेको आरोप लगाउनुभयो ।
देशभक्तिले ओतप्रोत भाषणका क्रममा राष्ट्रपति ट्रम्पले ‘अमेरिकी विशिष्टता’को प्रशंसा गर्दै माउन्ट रसमोरमा उभिएर राष्ट्रका चार महान् पूर्ववर्ती नेतालाई श्रद्धा व्यक्त गर्नुभयो । सोही ऐतिहासिक स्मारकको फेदमा उहाँले भन्नुभयो, “हामी यस भव्य वार्षिकोत्सवको नजिक पुग्दै गर्दा हाम्रो अमेरिकी पहिचानमाथि नयाँ आक्रमण भइरहेको देखिरहेका छौँ ।” उहाँले ‘देशभित्र कम्युनिष्ट खतरा पुनः बढिरहेको’ आरोप लगाउनुभयो ।
डेमोक्रेटिक पार्टीभित्रको वामपन्थी धारलाई लक्षित गर्दै ट्रम्पले पछिल्ला हप्ता यस्ता टिप्पणी दोहोर्याउँदै आउनुभएको छ । “हालैका वर्षमा हाम्रो विशिष्ट चरित्र परिवर्तन गर्ने, अमेरिकी भावनालाई कमजोर पार्ने र इतिहासबाट टाढा लैजाने अस्वीकार्य प्रयास हुँदै आएको छ”, ट्रम्पले भन्नुभयो । यद्यपि उहाँको भाषण अपेक्षाकृत नरम शैलीको भए पनि सन्देश स्पष्टरूपमा राजनीतिक थियो ।
उहाँले थप भन्नुभयो, “तपाई यहीँ जन्मिनु आवश्यक छैन, तर हामीले निर्माण गरेको कुरालाई तपाईले माया गर्नैपर्छ ।” माउन्ट रसमोर जस्तो ऐतिहासिक स्थलमा गरिएको यो सम्बोधनलाई ट्रम्पका समर्थकले प्रतीकात्मक महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । केहीले जर्ज वासिङ्टन, थोमस जेफरसन, अब्राहम लिङ्कन र थियोडोर रुजवेल्टसँगै ट्रम्पको आकृति पनि कुँद्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
यसैबिच, ट्रम्पले आगामी जुलाई ४ मा वाशिङ्गटनको नेशनल मलमा चुनावी शैलीको राजनीतिक सभा गर्ने घोषणा गरेका छन्, जहाँ सैन्य जेट विमानको उडान र विशाल आतिशबाजी प्रदर्शन हुने बताइएको छ । राष्ट्रिय एकताको अवसर मानिने वार्षिकोत्सव नजिकिँदै गर्दा अमेरिकामा राजनीतिक विभाजन अझ गहिरिँदै गएको देखिन्छ । इरानसँगको तनाव, बढ्दो जीवनयापन लागत र आप्रवासन नीतिलाई लिएर ट्रम्प प्रशासन आलोचनाको सामना गरिरहेको छ ।
हालैका सर्वेक्षणमा अमेरिकी ‘ड्रीम’ प्रति जनविश्वास कमजोर भएको देखिएको छ । क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षण अनुसार ६१ प्रतिशत अमेरिकीले देश स्वतन्त्रताको घोषणा पत्रमा उल्लेखित आदर्श अनुसार नचलेको धारणा राखेका छन् । यसैबिच, लसएन्जलसकी शिक्षिका एमी किमाराले एएफपीलाई भन्नुभयो, “जुलाई ४ स्वतन्त्रताको दिन हो, तर अहिलेको राजनीतिक अवस्थाका कारण यो उत्साहजनक लाग्दैन ।”रासस/एएफपी
