नेपालगन्जमा राजा वीरेन्द्रको पूर्णकद शालिक पुनःस्थापना

नेपालगन्जमा राजा वीरेन्द्रको पूर्णकद शालिक पुनःस्थापना


  • 2.2K
    SHARES
    • आषाढ २१, २०८३ आइतबार
    • ३ महिना अघि
    • 3.4K Views

    नेपालगन्जमा राजा वीरेन्द्रको पूर्णकद शालिक पुनःस्थापना

    नेपालगन्ज । करिब दुई दशकपछि नेपालगन्जको वीरेन्द्र चोकमा स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको पूर्णकद शालिक पुनःस्थापना गरिएको छ। शनिबार राति कडा सुरक्षा व्यवस्थाका बीच शालिक स्थापना गरिएको हो। यससँगै नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचान पुनर्जीवित गर्ने अभियानले औपचारिक गति लिएको छ।

    images

    राजा वीरेन्द्रको शालिक २०६२/६३ सालको जनआन्दोलनका क्रममा हटाइएको थियो। त्यसयता विभिन्न पक्षबाट पुनःस्थापनाको माग उठ्दै आए पनि राजनीतिक सहमति नजुट्नु तथा सुरक्षा संवेदनशीलताका कारण करिब दुई दशकसम्म वीरेन्द्र चोक शालिकविहीन बनेको थियो।

    नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न आन्दोलनका क्रममा हटाइएका तथा क्षतिग्रस्त बनाइएका ऐतिहासिक शालिकहरूको पुनःस्थापना अभियान सुरु गरेको जनाएको छ। सोही अभियानअन्तर्गत पहिलो चरणमा वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको हो।

    नेपालगन्जमा यसअघि त्रिभुवन चोकस्थित राजा त्रिभुवनको शालिक पनि आन्दोलनका क्रममा भत्काइएको थियो। पछि उक्त शालिक पुनःस्थापना गरिएको थियो। 
    गत भदौ २३/२४ को जेन्जी आन्दोलनमा भत्काइएको नेपालगञ्ज बीपी चोकमा रहेको बि. पी. कोइरालाको शालिक पनि पुनः स्थापना गरिएको छ।

    अब अन्य ऐतिहासिक शालिकहरूको संरक्षण र पुनःनिर्माणको कामलाई पनि निरन्तरता दिइने अपेक्षा गरिएको छ।

    स्वर्गीय राजा वीरेन्द्र नेपाली जनतामाझ शान्त, सरल र राष्ट्रप्रेमी शासकका रूपमा स्मरण गरिन्छन्। उहाँले राष्ट्रिय एकता, सार्वभौमिकता र शान्तिलाई प्राथमिकता दिँदै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा “शान्ति क्षेत्र” घोषणा गर्ने प्रस्ताव अघि सार्नुभएको थियो। उहाँको शासनकालमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा विकासका विभिन्न योजनाहरू अघि बढाइएको उल्लेख गरिन्छ।

    २०५८ सालको दरबार हत्याकाण्डमा उहाँको दुःखद निधन भएपछि राष्ट्रले ठूलो क्षति व्यहोरेको थियो। आज पनि धेरै नेपालीले उहाँलाई देशप्रेम, विनम्रता, शालीन नेतृत्व र राष्ट्रिय हितप्रतिको समर्पणका लागि सम्मानपूर्वक सम्झने गर्छन्। 


    हरेक राजनीतिक आन्दोलनमा सार्वजनिक शालिकमाथि असन्तुष्टि पोख्ने प्रवृत्तिका कारण नेपालगन्जका धेरै ऐतिहासिक शालिकहरू लामो समयसम्म जीर्ण र उपेक्षित अवस्थामा पुगेका थिए। उपमहानगरपालिकाको पछिल्लो पहलसँगै ती सम्पदाको संरक्षण, पुनःस्थापना र शहरको ऐतिहासिक पहिचान जोगाउने प्रयासले नयाँ गति लिएको स्थानीयवासीले बताएका छन्।


    तेस्रो आँखा