काठमाडौं, १७ चैत्र । नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा एक खेल अगावै फाइनलमा पुगेको छ । २ सय चार रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा एक सय ६६ रनमा अल आउट भयो ।
करण केसीले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नैसान पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बने । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिए ।
तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको चौथो बलमा लेगा सियाकालाई १ रनमा आसिफ शेखबाट क्याच गराउँदै आफ्नो ५० औं टि ट्वान्टी आई विकेट पूरा गरेका थिए । करणले नै असाद भालालाई सोमपाल कामीबाट १ रनमा क्याच गराउँदा १३–२ को अवस्थामा पुगेको थियो । तेस्रो विकेटका लागि अमिनी र टोनी उराले ८४ रनको साझेदारी गर्दै जितको आशा कायमै राखे ।
उरा सोमपाल कामीको १२ औं ओभरको पहिलो बलमा लङअफमा भुर्तेलबाट ४३ रनमा क्याच भए । उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे । चाल्र्स अमिनी सोमपालकै बलमा लङअनमा भुर्तेलबाट क्याच भएपछि पपुवा न्युगिनीको जित कठिन बनेको थियो । अभिनाश बोहराको १८ औं ओभरको दोस्रो बलमा नोर्मन भानुआ लङअफमा १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्यात भएपछि नेपाल जित नजिक पुगेको थियो । लगत्तै अर्को बलमा सेसे बाउ २५ रनमा बोल्ड आउट भए ।
नेपालका करण केसीले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।सन्दीपको नाममा १ विकेट रह्यो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले ।
चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले १८ औं ओभरको सुरुवाती तीन बलमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै २९ बलमा अर्धशतक पूरा गरेका थिए । उनको यो टि ट्वान्टी आई करिअरको चौथो अर्धशतक हो । युवा ब्याटर रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६.२ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर राइली हेकुरेको बलमा कुशल एज लागेर कभरमा टोनी उराबाट १७ रनमा क्याच भए । २० बल खेलेका भुर्तेलले २ चौका प्रहार गरे ।
आसिफ नोर्मन भानुआको १० औं ओभरको चौथो बलमा डिप मिडविकेटमा उराबाट क्याच भए । त्यसअघिको बलमा उनले काउकर्नरमा छक्का प्रहार गरेका थिए । आसिफले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए । रोहित हेकुरेको बलमा स्क्वायर लेगमा सेसे बाउबाट क्याच भएका थिए । तल्लोक्रमका करण केसी १ दीलिप नाथ शून्यमा आउट भए ।
नेपालले १९ औं अोभरका ४ छक्का र १ चौका सहित कुल ३२ रन जोडेको थियो । जुन नेपालले एकै ओभरमा बनाएको हालसम्मकै धेरै रन हो । पपुवा न्युगिनीका राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपालले अव शनिबार मलेसियासँग खेल्नेछ । मलेसिया र पपुवा न्युगिनी मध्य एक टोली फाइनलमा पुग्नेछन् । पहिलो खेलमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो । शुक्रबार मलेसिया विजयी भएमा फाइनलमा जानेछ । पराजित भएमा नेपालसँगको नतिजा पर्खनु पर्ने हुन्छ । फाइनल खेल सोमबार हुनेछ ।
