प्रवासी नेपाली बीच अन्तरक्रिया गर्न ज्ञानेन्द्र शाही जापान आउँदै

प्रवासी नेपाली बीच अन्तरक्रिया गर्न ज्ञानेन्द्र शाही जापान आउँदै


  • 4.3K
    SHARES
    • आषाढ २९, २०८३ सोमबार
    • ३ महिना अघि
    • 6.5K Views

    प्रवासी नेपाली बीच अन्तरक्रिया गर्न ज्ञानेन्द्र शाही जापान आउँदै

    टोकियो, जापान । नेपालको समसामयिक राजनीति, सुशासन, राष्ट्र निर्माण, प्रवासी नेपालीको भूमिका तथा राष्ट्रिय स्वाभिमानका विषयमा खुला संवाद गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता माननीय ज्ञानेन्द्र शाही विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जापान आउनुहुने भएको छ।

    images

    कर्णाली प्रदेश समाज, जापानको आयोजनामा यही जुलाई १६, २०२६ मा टोकियोस्थित तोशिमा सिभिक सेन्टरमा “कर्णालीको आवाज, विश्वभरका नेपालीसँग” भन्ने मूल नाराका साथ विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा जापानमा रहेका नेपालीहरूले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा राख्न, विचार आदानप्रदान गर्न तथा समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न सक्नेछन्।

    सडकदेखि सदनसम्म बेथिति, भ्रष्टाचार, विसंगति र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएका कर्णालीका जुझारु युवा नेताका रूपमा परिचित ज्ञानेन्द्र शाहीले नेपालका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ।

    आयोजकका अनुसार कार्यक्रममा नेपालको वर्तमान अवस्था, सुशासन, पर्यटन प्रवर्द्धन, कर्णालीको विकास, राष्ट्रिय स्वाभिमान, विदेशमा रहेका नेपाली युवाको भूमिका तथा मातृभूमिप्रतिको दायित्व लगायत विषयमा खुला छलफल हुनेछ। कर्णाली प्रदेश समाज, जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष संवादको अवसर उपयोग गर्न आग्रह गरेको छ।

    यसैबीच, ज्ञानेन्द्र शाही झण्डै एक साताको जापान बसाइका क्रममा जुलाई १८ देखि २० सम्म टोकियोमा आयोजना हुने नेपाल फेस्टिभलमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

    त्यसैगरी जुलाई १९ (आइतबार) राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज, जापान (ओनो जापान) ले उहाँको स्वागत तथा सम्मानमा विशेष भेटघाट कार्यक्रम आयोजना गरेको छ। ओनो जापानका अध्यक्ष नवीन चन्दका अनुसार उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, राप्रपाका शुभेच्छुक तथा राष्ट्रवादी सोच राख्ने नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

    को हुन् ज्ञानेन्द्र शाही ? 
    ज्ञानेन्द्र शाही नेपालका चर्चित युवा राजनीतिक नेता तथा प्रतिनिधिसभा सदस्य हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता हुन। प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट विजयी भई संघीय संसदमा प्रवेश गरेका उनी राजनीतिमा प्रवेश गर्नुअघि भ्रष्टाचार, अनियमितता, सुशासन र जनसरोकारका विषयमा सक्रिय नागरिक अभियन्ताका रूपमा परिचित थिए । विभिन्न सरकारी निकायको अनुगमन, सार्वजनिक सेवाको प्रभावकारिता र राज्य संयन्त्रप्रतिको जनउत्तरदायित्वका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन् । संसदमा ज्ञानेन्द्र शाही सशक्त, स्पष्ट र आक्रामक वक्ताका रूपमा चिनिएका छन्। उनले विशेषगरी राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना, कर्णालीको विकास, राष्ट्रिय स्वाभिमान, युवाको रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधार लगायत विषयमा संसदमा दिएका धेरै अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित हुने गरेका छन्। उनी संसदमा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाउने प्रभावशाली सांसदका रूपमा परिचित छन्।

  • सम्बन्धित विषय:

  • # वीरेन्द्र पौडेल

  • वीरेन्द्र पौडेल
    लेखकबाट थप