• ट्रेण्डिङ्ग :
रसुवा बाढी : हवाईदेखि सुरुङसम्म उद्धार अभियान तीव्र, हजारौँ सुरक्षाकर्मी मैदानमा

रसुवा बाढी : हवाईदेखि सुरुङसम्म उद्धार अभियान तीव्र, हजारौँ सुरक्षाकर्मी मैदानमा


  • 1.8K
    SHARES
    • भाद्र १७, २०८३ बुधबार
    • २ हप्ता अघि
    • 2.8K Views

    रसुवा बाढी : हवाईदेखि सुरुङसम्म उद्धार अभियान तीव्र, हजारौँ सुरक्षाकर्मी मैदानमा

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न सरकारी निकाय निरन्तर उद्धार अभियानमा परिचालित छन्। विशेषगरी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहमा फसेका र सम्पर्कविहीन व्यक्तिहरूको खोजी अहिले सबैभन्दा चुनौतीपूर्ण बनेको छ। नेपाली सेनाले हवाई, जमिनी तथा सुरुङमार्गबाट खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ। 

    images

    हवाई उद्धारबाट हजारौँको ज्यान जोगाइयो
    नेपाली सेनाको उपलब्ध विवरणअनुसार २०८३ भदौ १६ गतेसम्म हवाई साधनमार्फत थप ११९ जनाको उद्धार गरिएको छ, जसमा एक बेलायती नागरिकसमेत रहेका छन्। यससँगै हालसम्म नेपाली सेनाले हेलिकप्टर लगायत हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३,८९१ जनाको उद्धार गरेको विवरण प्राप्त भएको छ। त्यसैगरी धुन्चे, कोलोनी, बेत्रावती तथा त्रिशूली–३ ‘ए’ क्षेत्रमा गरी करिब २,५०० किलो राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ। यसअघि जलविद्युत् आयोजनाका क्षेत्रबाट मात्रै २७९ जनालाई जीवितै उद्धार गरिएको थियो। तीमध्ये माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१, माथिल्लो त्रिशूली–१ बाट ३३, मैलुङबाट ९ तथा अन्य आयोजनाबाट समेत उद्धार गरिएको नेपाली सेनाले जनाएको थियो। 

    सुरुङभित्र फसेकाहरूको खोजी अझै चुनौतीपूर्ण

    बाढीले जलविद्युत् आयोजनाका सुरुङहरूमा ठूलो मात्रामा माटो, ढुंगा र पानी भरिएपछि त्यहाँ फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी निकै कठिन बनेको छ।चिलिमे हाइड्रोपावरमा नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ। पछिल्लो विवरणअनुसार टोली करिब १५० मिटरसम्म पुगेपछि भिरालो भाग सुरु भएको र सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको छ। अपर त्रिशूली–१को हाँकुस्थित सुरुङमा पनि संयुक्त टोली करिब १६० मिटरसम्म पुगेपछि सुरुङ टालिएको अवस्थामा भेटिएको छ। पछिल्लो रिपोर्टअनुसार त्यहाँ पनि उद्धारका लागि थप प्राविधिक प्रयास आवश्यक देखिएको छ।  त्यस्तै त्रिशूली–३ ‘ए’मा सुरुङको हेड पहिचान गरी तीनवटा एक्साभेटरमार्फत माटो पन्छाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी सुरुङभित्र पुग्ने प्रयास जारी छ। इनलेटतर्फको बाटोमा अत्यधिक पानी आएपछि वैकल्पिक रूपमा आउटलेटबाट प्रवेश गर्ने प्रयास पनि अघि बढाइएको छ। त्रिशूली–३ ‘बी’ आयोजनामा पनि कार्यालय तथा आवास क्षेत्र पहिचान गरी एक्साभेटरको प्रयोगबाट पहुँचमार्ग निर्माण तथा सुरुङतर्फ पुग्ने काम भइरहेको छ।

    ९ हजारभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित

    रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले जंगल, डाँडाकाँडा, नदी–खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्ने, घाइतेको उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्। 

    उद्धारसँगै स्वास्थ्य सेवा पनि जारी
    नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट एकै दिन २५१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। हालसम्म यी स्वास्थ्य सेवाबाट ३,०२८ जनाले उपचार तथा स्वास्थ्य सेवा प्राप्त गरिसकेको विवरणमा उल्लेख छ। बाढीपछि महामारी तथा संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा निसंक्रमण (Disinfect) गर्ने कामसमेत अघि बढाइएको छ। धुन्चे, त्रिशूली, गजुरी, देवघाटलगायतका प्रभावित क्षेत्रमा औषधि छर्कने तथा निसंक्रमणको काम गरिएको छ। अन्य क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी काम विस्तार गरिँदैछ। 

    प्रभावित क्षेत्रमा तुइन निर्माण
    बाढीका कारण सडक तथा पुलको पहुँच अवरुद्ध भएपछि स्थानीयलाई बजार, स्वास्थ्य संस्था तथा अन्य आवश्यक सेवासँग जोड्न वैकल्पिक पहुँच निर्माणमा पनि ध्यान दिइएको छ। त्रिशूली नदीका विभिन्न पाँच स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९ स्थित इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको छ। यसबाट प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत तथा बजार र अस्पतालसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

    मानवीय क्षतिको अवस्था अझै गम्भीर
    बाढीपछि प्रभावित जिल्लाहरूमा फेला परेका शवको संख्या निरन्तर बढिरहेको छ। हालसम्म १,०५८ शव फेला परेको विवरण सार्वजनिक भएको थियो भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।  यसैबीच सरकारले खोज तथा उद्धारसँगै प्रभावितको स्वास्थ्य, आश्रय, राहत र पुनःस्थापनालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। नुवाकोटका अस्थायी आश्रयस्थलमा हजारौँ प्रभावितले आश्रय तथा राहत पाइरहेका छन्। 

    उद्धार अभियानमा आशा र चुनौती दुवै

    रसुवाको भोटेकोशी बाढी नेपालको पछिल्लो समयकै अत्यन्त गम्भीर प्राकृतिक विपत्तिमध्ये एक बनेको छ। नदीको तीव्र बहाव, ठूलो मात्रामा थुप्रिएको लेदो तथा ढुंगा, क्षतिग्रस्त सडक र जलविद्युत् आयोजनाका पुरिएका सुरुङका कारण उद्धारकर्ताका लागि हरेक कदम जोखिमपूर्ण बनेको छ। तर कठिन परिस्थितिका बीच पनि नेपाली सेनाका हजारौँ सुरक्षाकर्मी, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा विदेशी विशेषज्ञ टोलीहरू निरन्तर खोज तथा उद्धारमा खटिरहेका छन्। सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन विशेष प्राविधिक उपकरण, एक्साभेटर, रक ब्रेकर, कम्प्रेसर तथा हेलिकप्टरको प्रयोग भइरहेको छ।  उद्धारको प्रतीक्षामा रहेका परिवारका लागि प्रत्येक घण्टा महत्वपूर्ण छ। त्यसैले सम्भावित जोखिमबीच पनि हराइरहेका नागरिकको खोजीलाई निरन्तरता दिनु, घाइतेको उपचार गर्नु, शवको पहिचान तथा व्यवस्थापन गर्नु र विस्थापित परिवारलाई सुरक्षित आश्रय तथा राहत उपलब्ध गराउनु अहिलेको प्रमुख प्राथमिकता बनेको छ।

    सलाम छ उद्धारमा खटिएका वीर सुरक्षाकर्मीहरूलाई
    आफ्नो ज्यानको समेत प्रवाह नगरी बाढी, पहिरो, लेदो र पुरिएका सुरुङभित्र प्रवेश गरेर नागरिकको जीवन बचाउन खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा प्राविधिक टोलीप्रति हार्दिक सम्मान।
               


    बिरेन्द्र पौडेल
    लेखकबाट थप