भारी वर्षाको पूर्वानुमानपछि सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

भारी वर्षाको पूर्वानुमानपछि सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल


  • 2.1K
    SHARES
    • आश्विन ८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 3.2K Views

    भारी वर्षाको पूर्वानुमानपछि सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

    भैरहवा, असोज ८ गते । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै वर्षा तथा केही स्थानमा अति ठुलो वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्य्रान बहाब तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले प्रदेशवासीलाई सतर्क रहन आग्रह गर्नुभएको हो ।

    images

    उहाँले भारी वर्षाका कारण नदी, खोला तथा नालामा पानीको सतह बढ्नाका साथै सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ । उहाँले धानबाली भित्र्याउने समय रहेकाले किसानलाई मौसमको अवस्था हेरेर कृषिविज्ञको सल्लाह अनुसार आवश्यक तयारी गर्न पनि आग्रह गर्नुभएको छ ।

    वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उहाँको सुझाव छ । मुख्यमन्त्री आचार्यले सम्भावित विपत्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभएको छ ।

    उहाँले भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न पनि आग्रह गर्नुभएको छ । उहाँले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन तथा पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

    सम्भावित विपत्बाट जनधनको क्षति न्यूनीकरणका लागि सरकारी निकायको तयारीसँगै नागरिकको सतर्कता र सहकार्य पनि महìवपूर्ण हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायलाई समयमै पूर्वतयारी गरी सुरक्षित रहन र आवश्यक अवस्थामा एकअर्कालाई सहयोग गर्न अपिल गर्नुभएको छ ।  

     


    तेस्रो आँखा