एजेन्सी, २० चैत्र । युक्रेनी अधिकारीहरुले राजधानी किभ र वरवरका सबै क्षेत्र पुनःयुक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन् ।
केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरुमा भएका भीषण संघर्षपछि ती क्षेत्रहरु आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको हो । पुरै किभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिवार बताएकी छन् ।
शान्तिवार्तामा सद्भावको संकेत देखाउँदै रुसले किभनजिक रहेका क्षेत्रहरुबाट आफ्नो फौज फिर्ता गर्ने बताएको छ । तर पश्चिमा विश्लेषकहरुले त्यसअघि नै रुसको आक्रमण रोकिएको बताएका थिए । तर आइतवार बिहान कृष्णसागरको तटमा रहेको बन्दरगाह सहर ओडेसामा विस्फोटनहरु भएको सुनिएको बताइएको छ ।
