विचार
परदेशमा नेपालीले नेपालीलाई साथ दिऔँ, शोषण होइन

परदेशमा नेपालीले नेपालीलाई साथ दिऔँ, शोषण होइन


  • 5.8K
    SHARES
    • आश्विन १८, २०८३ आइतबार
    • ४ हप्ता अघि
    • 8.9K Views

    परदेशमा नेपालीले नेपालीलाई साथ दिऔँ, शोषण होइन

    विभिन्न कारणले आज लाखौँ नेपालीहरू जापानमा बसोबास गर्दै आएका छन्। कोही रोजगारीका लागि, कोही अध्ययनका लागि, कोही व्यवसाय तथा पारिवारिक कारणले जापानमा छन्। फरक–फरक उद्देश्य र परिस्थितिका बाबजुद विदेशमा रहेका नेपालीबीच एउटा साझा सम्बन्ध छ—हामी सबै नेपाली हौँ। परदेशको जीवन सहज हुँदैन। नयाँ देश, नयाँ भाषा, नयाँ काम र फरक कानुनी व्यवस्थाबीच कहिलेकाहीँ रोजगारी, आवास, कागजी प्रक्रिया, भाषा तथा अन्य समस्यामा नेपालीहरू एक–अर्काको सहयोग चाहिन्छ र खोज्नुपर्ने अवस्था आउँछ। यस्तो अवस्थामा नेपालीले नेपालीलाई साथ दिनु, दुःखमा सहयोग गर्नु र सही बाटो देखाउनु हाम्रो जिम्मेवारी पनि हो।

    images

    तर पछिल्लो समय रोजगारी खोज्ने क्रममा केही नेपालीहरू आफ्नै नेपालीबाट आर्थिक रूपमा ठगिने वा अनुचित शुल्क तिर्न बाध्य भएका घटनाहरू बाहिरिन थालेका छन्। विशेषगरी काम खोजिरहेका विद्यार्थी, कुक, विभिन्न कामदार तथा अन्य भिसामा रहेका नेपालीहरूले यस्ता समस्या भोगिरहेका छन् ।

    रोजगारीको नाममा पैसा लिने प्रवृत्ति : 

    जापानमा रोजगारसम्बन्धी काम गर्ने कम्पनी तथा हाकेन प्रणाली आफ्नै कानुनी व्यवस्था र नियमअनुसार सञ्चालन हुन्छ। तर व्यक्तिगत रूपमा नेपालीबाट ठूलो रकम लिएर काम लगाइदिने, कामको आश्वासन दिने, अनावश्यक शुल्क असुल्ने वा त्यसपछि जिम्मेवारीबाट पन्छिने गतिविधिबारे भने सम्बन्धित सबै सचेत हुन आवश्यक छ। कामको खोजीमा रहेका व्यक्ति आर्थिक र मानसिक रूपमा कमजोर अवस्थामा हुन सक्छन्। त्यस्तो अवस्थाको फाइदा उठाएर पैसा लिने, गलत जानकारी दिने वा काम तथा भिसासम्बन्धी समस्या उत्पन्न हुने अवस्थासम्म पुर्‍याउने कामले एउटा व्यक्तिलाई मात्र होइन, समग्र नेपाली समुदायको विश्वासमा असर पार्न सक्छ। नेपालीलाई नेपालीले नै काममा लगाइदिने र सहयोग गर्ने नाममा नेपालीबाटै मोटो रकम लिने तथा शोषण हुने अवस्था आउनु दुःखद विषय हो।

    समस्या पर्दा चुप नबसौँ : 

    यदि कुनै नेपाली रोजगारीको नाममा ठगिएको, अनुचित रूपमा पैसा तिर्न बाध्य भएको वा अन्यायमा परेको छ भने सकेसम्म प्रमाण सुरक्षित राखेर सम्बन्धित निकायमा जानकारी गराउनु आवश्यक छ। समस्या लुकाएर बस्दा गलत प्रवृत्तिलाई थप प्रोत्साहन मिल्न सक्छ।समस्या परेका व्यक्तिलाई दोष लगाउनुको सट्टा पहिले उसको कुरा सुन्ने, सही जानकारी दिने र आवश्यक परे सम्बन्धित निकायसम्म पुग्न सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ।जापानमा काम, अध्ययन वा अन्य कुनै अवसरका विषयमा कसैले जानकारी दिँदा सुनेकै भरमा विश्वास गरेर पैसा नदिनुहोस्।

    कामको कम्पनी कुन हो? कामको प्रकृति के हो?
    तलब र काम गर्ने समय कति हो? कुनै शुल्क लाग्छ भने त्यसको कानुनी आधार के हो? सम्झौता वा लिखित कागजात छ कि छैन? भिसा र कामबीचको सम्बन्ध कानुनी रूपमा मिल्छ कि मिल्दैन?

    यस्ता विषयमा राम्रोसँग बुझेर मात्र निर्णय गर्नु आवश्यक छ। विशेषगरी “छिट्टै काम लगाइदिन्छु”, “यति पैसा दिए पुग्छ”, “कागज मिलाइदिन्छु” जस्ता मौखिक आश्वासनका आधारमा हतारमा पैसा बुझाउनु जोखिमपूर्ण हुन सक्छ।

    हामी विदेशमा नेपालीको प्रतिनिधित्व पनि गरिरहेका हुन्छौँ। एउटाले गरेको राम्रो कामले नेपाली समुदायको सम्मान बढाउन सक्छ भने गलत व्यवहारले धेरै नेपाली माथि नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले परदेशमा बसेर सकेसम्म एक–अर्कालाई सहयोग गरौँ, सही सूचना दिऔँ, समस्यामा साथ दिऔँ र नयाँ आउने नेपालीलाई सही बाटो देखाऔँ। सक्नेले सहयोग गरौँ। सहयोग गर्न नसके पनि कम्तीमा अरूलाई दुःख दिने, ठग्ने वा समस्यामा पार्ने काम नगरौँ।

    सम्बन्धित संस्थाको भूमिका पनि महत्वपूर्ण:-

    जापानमा रहेका नेपालीको हित र अधिकारसँग जोडिएका विषयमा नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (NRNA), विभिन्न नेपाली संघ–संस्था तथा सम्बन्धित सरोकारवाला निकायहरूले जनचेतना, सूचना प्रवाह र आवश्यक समन्वयमा भूमिका खेल्न सक्छन्। त्यस्तै, नेपाली समुदायमा देखिएका गलत प्रवृत्ति र सम्भावित शोषणका विषयमा जिम्मेवार सञ्चारमाध्यमले तथ्य र प्रमाणका आधारमा सचेतनामूलक सामग्री प्रकाशन गर्नु, सत्यतथ्य सार्वजनिक गर्ने पनि महत्वपूर्ण हुन्छ।

    अन्त्यमा—परदेशमा नेपाली, नेपालीकै सहारा बनौँ, हामी सबैको यात्रा र परिस्थिति फरक हुन सक्छ। तर परदेशमा समस्या पर्दा आफ्नो भाषा बोल्ने, आफ्नो देशको मान्छेले दिएको एउटा सही सल्लाह र सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ। त्यसैले आजैदेखि एउटा सकारात्मक संस्कार सुरु गरौँ |  नेपालीलाई नेपालीले सहयोग गरौँ। दुःखमा साथ दिऔँ।रोजगारीमा सही सूचना दिऔँ।

    कुनै अवसरमा पैसा दिनुअघि राम्रोसँग बुझौँ।
    ठगी वा अन्यायमा परे आवाज उठाऔँ।
    र सबैभन्दा महत्वपूर्ण—आफू सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित राखौँ।

    सक्नुहुन्छ भने कसैको भलो गर्नुहोस्, सक्नुहुन्न भने कम्तीमा कसैलाई दुःख र समस्यामा पार्ने काम नगर्नुहोस्। परदेशमा हाम्रो पहिचान केवल व्यक्तिगत होइन—हामीले गर्ने व्यवहारबाट नेपाली समुदायको पहिचान पनि निर्माण हुन्छ।


    बिरेन्द्र पौडेल
    लेखकबाट थप