घोराही, असोज २६ गते । दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ ।
घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो ।
टिपर चालक तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २६ वर्षीय टिपर चालक राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै घोराही–लमही सडकखण्ड अन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छन् ।
