मनाङ, असोज २६ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका पदमार्गहरूमा पदयात्री पर्यटकको आवगमन उत्साहजनक देखिएको छ ।
एक्यापले सार्वजनिक गरेको दैनिक पदयात्री आवागमन अद्यावधिक विवरण अनुसार असोज २५ गते आइतबार मात्र एक हजार ८३६ जना पदयात्री अन्नपूर्ण क्षेत्रका विभिन्न प्रवेश नाकाहरूबाट चेक–इन हुँदै भित्रिएका छन् ।
पदमार्गहरू सुरक्षित रहेको र पर्यटकीय अनुकूल मौसमका कारण दैनिक रूपमा उल्लेख्य संख्यामा पदयात्रीहरू यस क्षेत्रमा पुगिरहेका छन् । सोही दिन विभिन्न चेक–आउट नाकाहरूबाट आठ सय १५ जना पदयात्रीहरू पदयात्रा सफलतापूर्वक पूरा गरी बाहिरिएका छन् ।
विभिन्न नाकाको अद्यावधिक विवरण
एक्यापको असोज २५ गतेको तथ्यांकअनुसार बिरेठाँटी नाकाबाट सर्वाधिक ५४४ जना पदयात्री भित्रिएका छन् भने ३३१ जना बाहिरिएका छन् । धारापानी नाकाबाट २६० जना पदयात्री चेक–इन भएका छन् भने ८६ जना बाहिरिएका छन् । त्यसैगरी छोमरोङ नाकाबाट २४६ जना पदयात्री भित्रिएका छन् भने २७० जना चेक–आउट भएका छन् ।
सिम्पानी, बगैँचा नाकाबाट १४९ जना पदयात्री भित्रिएका छन् भने ४ जना बाहिरिएका छन् । पोथाना नाकाबाट १४७ जना पदयात्री भित्रिएका छन् भने ४५ जना बाहिरिएका छन् । जोमसोम नाकाबाट १४६ जना पदयात्री भित्रिएका छन् भने २१ जना बाहिरिएका छन् ।
घासा नाकाबाट १४३ जना पदयात्री भित्रिएका छन् भने ४ जना बाहिरिएका छन् । मनाङ नाकाबाट ११८ जना पदयात्री भित्रिएका छन् भने ९ जना बाहिरिएका छन् ।
कागबेनी नाकाबाट १७ जना पदयात्री भित्रिएका छन् भने २० जना बाहिरिएका छन् । सिकलेस नाकाबाट ८ जना पदयात्री भित्रिएका छन् भने १ जना बाहिरिएका छन् । शिखा नाकाबाट ६ जना पदयात्री भित्रिएका छन् भने ३ जना बाहिरिएका छन् ।
मुक्तिनाथ नाकाबाट २ जना पदयात्री भित्रिएका छन् भने २१ जना बाहिरिएका छन् ।
एकै दिनमा एक हजार ८३६ जना पदयात्री भित्रिनु र ८१५ जना सुरक्षित रूपमा पदयात्रा सम्पन्न गरी फर्किनुले अन्नपूर्ण चक्रीय पदमार्ग पर्यटकका लागि पूर्ण रूपमा सुरक्षित, व्यवस्थित र खुला रहेको जनाइएको छ ।
