सच्चिएर फेरि शक्तिशाली बन्छौँ: प्रचण्ड

सच्चिएर फेरि शक्तिशाली बन्छौँ: प्रचण्ड


  • 1.6K
    SHARES
    • कार्तिक १६, २०८३ आइतबार
    • १४ घण्टा अघि
    • 2.4K Views

    सच्चिएर फेरि शक्तिशाली बन्छौँ: प्रचण्ड

    सर्लाही, कात्तिक १५ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले पछिल्ला केही गतिविधिले संविधान र लोकतन्त्रको रक्षामै चुनौती थपिएको उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुधारेर कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्ने दाबी गर्नुभएको छ ।

    images

    आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले विगतका गल्ती सच्याएर अघि बढ्ने बताउनुभयो । जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई पुनः सङ्गठित गर्ने उहाँको भनाइ थियो ।

    “विगतका गल्ती सच्याउँदै जनताका घरदैलो तथा टोलबस्तीमा पुग्दै छौँ । हेर्दै जानुहोस्, कम्युनिस्ट पार्टीहरू फेरि पनि शक्तिशाली बन्ने छन्,” उहाँले भन्नुभयो ।

    जनतासँगको सम्बन्ध सुधार र पार्टी सङ्गठनलाई मजबुत बनाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सुरु गरिएको उहाँले बताउनुभयो । देशभर नयाँ चेतना फैलाउन घरदैलो अभियानसँगै राष्ट्रव्यापी आन्दोलनको तयारीमा समेत पार्टी जुटेको उहाँको भनाइ थियो ।

    परिवर्तनको उद्गम भूमि, हजारौँ सहिदको बलिदान र पुरानो राजनीतिक विरासत बोकेको तथा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको मधेशमा नेकपाले आफ्नो ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो । राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि मधेशले फेरि एक पटक अग्रभागमा रहेर साथ दिन उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालले ३५ वर्षको अवधिमा केही उपलब्धि नभएको भन्दै पुराना राजनीतिक दल तथा राजनीतिज्ञलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको बताउनुभयो । शिक्षा, साक्षरता, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने सडक, विद्युत् परियोजनालगायत क्षेत्रमा ३५ वर्षमा उल्लेख्य परिवर्तन आएको उहाँको भनाइ थियो ।

    उहाँले वर्तमान सरकारलाई रोजगारी सिर्जना, किसानका समस्या समाधान र उद्योगधन्दा सञ्चालनमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो । नेपालले युरोपका देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट पार्टीको झन्डा फहराउने दाबी गर्नुभयो ।

    कार्यक्रममा सर्लाहीका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरिएको थियो । देशभरका अन्य ७६ जिल्लामा यसअघि नै एकता प्रक्रिया सम्पन्न भए पनि सर्लाहीमा आइतबार एकता सभा गरिएको नेकपा सर्लाहीका नेता रामेश्वर रायले जानकारी दिनुभयो ।

    जिल्लाभरबाट सहभागी नेता तथा कार्यकर्तालाई पार्टीका केन्द्रीय संयोजक, सहसंयोजक र प्रदेश इन्चार्जलगायतका नेताले प्रशिक्षणसमेत प्रदान गर्नुभएको नेकपा सर्लाहीका नेता रामेश्वर रायले जानकारी दिनुभयो ।


    तेस्रो आँखा