काठमाडौं, २१ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा उम्मेदवार बन्ने र बनाउने विषयमा गाउँ गाउँमा बसह चल्न थालेको छ । कस्ता प्रतिनिधिहरुलाई दलहरुले टिकट दिएर पठाउँछन भन्ने नागरिकस्तरमा चासोको विषय बनेको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको टिकटको अपेक्षा गर्नेहरुको संख्या निकै बढेको छ ।
वडा अध्यक्षको हैसियत नबनाएका देखि सांसद भैसकेकाहरुले समेत अहिले स्थानीय तह प्रमुखको आकांक्षा राख्ने गरेका छन् प्रत्यक स्थानीय तहमा एउटै दलबाट एक दर्जन व्यक्तिहरु उम्मेदवारको अपेक्षामा दौडिएका छन् । यसले राजनीतिक दलहरुलाई नेता व्यवस्थापनमा सकस हुने देखिन्छ ।ओखलढुंगाको सुनकोशी गाउँपालिकामा अरु दलहरुजस्तै नेकपा एमालेमा उम्मेदवारको निकै भिड लागेको पाइएको छ । पालिका प्रमुख र उप–प्रमुखका आकांक्षीहरु धेरै भएपनि अन्तीममा मिलेर जानसक्ने अवस्था रहेको नेकपा एमाले ओखलढुंगाले जनाएको छ ।
पार्टीले सर्वसम्मतरुपमा भुगाेलमै मिलाएर आउनका लागि अनुराेध गर्ने, त्यसाे हुन नसके पार्टीले गरेकाे निर्णयलाइ आकांक्षीहरूले स्वीकार्ने वातावरण बनाउने एमाले जिल्ला अध्यक्ष शंकर कटवालले बताए । एमाले पार्टीको तर्फबाट सुनकोशी गाउँपालिका प्रमुखमा हितराज कार्की, टंकलाल गिरी, जालन्धर कार्की, देवेन्द्रबाबु राई, तारा कार्की, सुनील खड्का लगायत आधा दर्जन नेताहरुले आकांक्षा राखेका छन भने उप–प्रमुख सुशिला कट्वाल, मुना श्रेष्ठ, निर्मला गिरी लगायतको नाम अग्रपंतिमा छ ।
आकांक्षीका कुरा नेकपा एमाले सुनकोशी गाउँपालिका सहइन्चार्ज समेत रहेका हितराज कार्कीले आगामी निर्वाचनमा नेकपा एमालेको तर्फबाट पालिका प्रमुखको उम्मेदवारीमा दाबी गरेका छन् । नेपाली कांग्रेसको बलियो संगठन रहेको सुनकोशी गाउँपालिकामा एमालेलाई जिताउनका लागि आफू बलियो उम्मेदवार भएको कार्कीले बताए । ‘पालिकाको सबैभन्दा बलियो उम्मेदवार म हुँ’, कार्कीले भने ‘केही साथीहरु पैसा बोकेर काठमाडौंमा टिकट किन्न जाँदैछन् भन्ने सुन्दैछु, तर म भुगोलमा बसेर पार्टी र संगठनलाई बलियो बनाएर कसरी चुनाब जितिन्छ भन्ने विषयमा लागेको हुनाले मलाई पार्टीले टिकट दिन्छ भन्ने विश्वास छ ।’ उनले गाउँमा निरन्तर खटिएको हुनाले आफू अब्बल र जित्ने उम्मेदवार भएको बताएका छन् ।
त्यस्तै नेकपा एमालेका तर्फबाट सुनकोशी गाउँपालिकाको प्रमुखको टिकट लिने दाउमा देबेन्द्रबाबु राई पनि लागेका छन् । तर केही बाहेको अधिकांश दाबेदारले आपसी सहमति र समझदारीका आधारमा टिकट वितरणको निर्णय हुने दाबी गरेका छन् । देवेन्द्रबाबु राइले सकभर टिकट लिएरै छाड्ने लाइनमा उभिएका छन् । पछि आएका साथिहरु नयाँ भएकाले पनि आफ्नो सम्भावना बलियो भएको उनी निकटका नेताहरुको भनाइ छ ।
त्यसैगरी नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य समेत रहेका जालन्धर कार्कीले आगामी स्थानीय निर्वाचनमा आफ्नो दाबेदारी सुनकाशी गाउँपालिकाको प्रमुखमा रहेको बताउछन् । ‘लोकप्रियता, जनमत, युवाहरुको आकर्षणको हिसाबले म प्रमुखको लागि उचित उम्मेदवार हुँ’, कार्कीले तेस्रो आँखा सँग भने, ‘मैले लामोसमयदेखि पार्टीमा रहेर निस्वार्थ ढंगबाट काम गरेको हुनाले सर्वसम्मत रुपमा मलाई पार्टीले टिकट दिन्छ भन्ने लागेको छ ।’
त्यस्तै नेकपा एमाले पुराना नेता टंकलाल गिरीले आफ्नो दाबेदारी पालिका प्रमुखमा भएको बताए । पार्टीभित्र विमति होइन एकमत हुनुपर्छ र पार्टीलाई जिताउनुपर्छ भन्ने मत रहेको उनले बताए । गिरीले भने ‘जनतामाझ को पपुलर छ र पार्टीमा उसको लगानी के छ ? उसको कार्यक्षमता, लगनशीलता तथा संस्कारको आधारमा पार्टीले टिकट कसलाई दिने भनेर निणर्य गर्नुपर्दछ ।’ तटस्थ रहेको मतलई तान्नसक्ने क्षमता हेरेर पार्टीमा आपसी समझदारीमा टिकट दिनु पर्ने उनको तर्क छ । यी योग्यताका आधारमा आफूले टिकटको दावेदारी प्रस्तुत गरेको गिरीले बताए ।
गिरी र कार्की जस्तै युवा नेता तथा गाउँपालिका इन्चार्ज सुनिल खड्काले आफ्नो दाबी गाउँपालिकाको प्रमुखमा हुने बताएका छन् । पार्टीमा टिकटको लागि केही आकांक्षीहरु देखिएपनि धेरै प्रतिस्पर्धा नरहेको उनको भनाइ छ । ‘पार्टीमा टिकटको लागि धेरै प्रतिस्पर्धा छैन ।’, खड्काले भने ‘टिकट कसलाई दिने भन्ने कुरा समझदारीमा नै हुन्छ होला ।’ गाउँपालिका अध्यक्षको दावी गरेका खड्काले चुनाबी तयारी स्वरुप पार्टीसंगठन विस्तारको काम भइरहेको बताए । गाउँपालिका खड्काको राम्रो प्रभाव रहेको र आर्थिक व्यवस्थापनको हिसावले समेत उनलाई पार्टीले टिकट दिन सक्ने एमाले कार्यकर्ताहरुको आकलन छ ।
त्यस्तै गाउँपालिकाको अध्यक्षमा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोस बस्नेतले पनि दावी गरेका छन् । सामाजिक सेवामा समेत सक्रिय बस्नेतले गाउँपालिकाको टिकट पाए यो त्यो नभनी समानताका आधारमा पालिकाका आम नागरिकलाई सहज र सरलढंगले सेवा दिने बताए । त्यस्तै नेकपा माओवादीबाट र्भखर एमाले प्रबेश गरेकी तारा कार्कीले आफू पालिका प्रमुखको बलियो दाबेदार रहेको बताइन । उनले तेस्रो आँखासँग भनीन, ‘म पालिका प्रमुखको दह्रो र छोड्दै नछोड्ने दाबेदार हुँ ।’, एमालेबाट केही दाबेदारहरु भएपनि आफू टिकट पाउने प्रमुख दाबेदार भएको कार्कीले ठोकुवा गरिन ।
उप–प्रमुखका दाबेदार
नेकपा एमाले सुनकोशीका नेता सुशिला कट्वालले सुनकोशी गाउँपालिकाको उप–प्रमुखमा आकांक्षा राखेकी छन् । उनी अरु उम्मेदवार भन्दा आफूलाई लोकप्रिय ठान्छिन् । ‘मेरो आकांक्षा उप–प्रमुखमा रहेको छ ।’, कट्वालले भनिन् ‘तर मलाई नै टिकट दिनुपर्छ भन्ने छैन । यदि म भन्दा पार्टीमा क्षमतावान र राम्रो अरु कोही भए उसैलाई दिदा पनि हुन्छ ।’
एमाले बाहेक कुनै पार्टीमा नलागि सुरु देखि अहिले सम्म निरन्तर एमालेमै रहेकाले व्यक्ति भन्दा पार्टीले जित्नुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ । त्यसका लागि उपप्रमुखमा आफ्नो दावी रहेको कट्वालले बताइन । कट्वाल सँगै एकमाले सुनकोशी गाउँपालिकामा मुना श्रेष्ठ पनि उपप्रमुखको दावी गरेकी छन् । उनी लामो समयदेखि एमाले पार्टीमा लागेर विभिन्न संगठनहरुमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
पदम भुजेल
