• ट्रेण्डिङ्ग :
गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु

गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु


  • 508
    SHARES
    • कार्तिक २८, २०८३ शुक्रबार
    • १२ मिनेट अघि
    • 781 Views

    गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु

    सर्लाही, कात्तिक २६ गते । बिहीबार बिहान मकवानपुरमा भएको हाइस गाडी दुर्घटनामा सर्लाही सुन्दरपुरकी आठ महिने गर्भवती महिलासहित एकै परिवारको ६ जनाको ज्यान गएको छ ।  

    images

    दुर्घटनामा चक्रघट्टा गाउँपालिका –४, सुन्दरपुर गाउँका अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, छोरीहरु ५ वर्षकी दीपिका, ७ वर्षकी दीक्षा र १० वर्षकी अनुकुमारी, भाइहरु २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादवको मृत्यु भएको हो । 

    आफू मोटरसाइकलमा आउने भएपछि अवधेशले श्रीमती, छोरी र भाइहरुलाई बिहीबार बिहानै हाइस चढाएर घरतर्फ पठाउनुभएको थियो । अवधेशको घरमा अब वृद्ध अवस्थाकी आमा निर्मलादेवी यादव मात्र हुनुहुन्छ । 

    बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानीगढीमा भएको दुर्घटनामा अवधेशको परिवार नै सखाप भएको हो । दुर्घटनापछि बिहीबार बिहानै हेटौंडा पुग्नुभएका चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार काठमाडौँमा बसेर फलफूलसहितको व्यापार गरेर अवधेशले भाइहरु र छोरीहरु पढाउने गर्नुहुन्थ्यो । 

    उहाँले भन्नुभयो, “बाइक लिएर आउँदा छठमा यताउता जान सजिलो हुन्छ भनेर अवधेश गाडीमा नआएकाले ज्यान बच्यो, तर हाइस दुर्घटनापछि उहाँको परिवार त पुरै मासियो ।”

    बिहीबार राति ८ः३० बजेतिर गोरखापत्र अनलाइनसँग टेलिफोनमा कुराकानी गर्दै गाउँपालिका अध्यक्ष यादवले मृतक १४ जनाकै शव पोस्टमार्टम हुन बाँकी रहेको बताउनुभयो । हाइस चालकबाहेक अन्य १३ जना सुन्दरपुर गाउँका हुन् । 

    मृतकहरुमा हाइस चालक सर्लाहीको कविलासी नगरपालिका–८, अगर्बा बस्ने ३० वर्षीय रवीशङ्करकुमार मण्डल, यात्रुहरु सुन्दरपुर गाउँका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव रहेका छन् । 

    दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ पूरै शोकमग्न बनेको छ । छठ पर्व मनाउन मधेश प्रदेश ०३ –००१ ज ०८८० नम्वरको इभी हाइस चढेर आएकाहरु बिहीबार बिहान पौने ६ बजेतिर काठमाडौँ–कुलेखानी–भीमफेदी सडक अन्तर्गत चिसापानीगढी आइपुग्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेको गाडी सडकबाट करिव ५०० मिटर तल भिरमा खसेको थियो । 

    दुर्घटनामा घाइते भएका सुन्दरपुरकै तीन वर्षीय सुजन यादवलाई काठमाडौँ, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाडौँ रेफर गरिएको छ । ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव हेटौंडामा उपचारपश्चात डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने आङ्का रहेको सञ्चारकर्मीहरुसँग बताउनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी राति मात्र सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो । 

    यहाँबाट गएका यात्रुलाई काठमाडौँमा ओराल्नासाथ गाडी पुनः सुन्दरपुरका यात्रुहरु लिएर सर्लाहीतर्फ हिँडेको थियो । सर्लाहीका नागरिक अगुवा रजनीकान्त झाले चाडपर्वको समयमा यात्रु ओसार्न रातदिन नभनी कुदाकुद गरिने सवारी, चालक र सडकको अवस्थाबारे सम्वन्धित निकाय गम्भीर बन्न जरुरी रहेको बताउनुभयो । 


    तेस्रो आँखा