संयुक्त राष्ट्रसंघ, कात्तिक २८ गते । संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई नागरिकको जीवन, सुरक्षा र मानवीय मर्यादाको सम्मान गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले शुक्रबार यमनका विभिन्न क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र, हवाई आक्रमण तथा गोलाबारीका घटनाबाट सर्वसाधारण प्रभावित भइरहेको बताउनुभएको छ ।
उहाँका अनुसार अस्पताल, बजार तथा सर्वसाधारणका घरजस्ता सुरक्षित मानिएका स्थानसमेत आक्रमणबाट प्रभावित भइरहेका छन् । यस्ता घटनामा बालबालिकासहित सर्वसाधारणको ज्यान जानुका साथै धेरै घाइते भएका छन् ।
हकले द्वन्द्वका क्रममा सर्वसाधारणले भोग्नुपरेको मानवीय पीडाप्रति ध्यानाकर्षण गराउँदै यस्ता घटनालाई सामान्य अवस्थाका रूपमा लिन नहुने बताउनुभयो । उहाँले द्वन्द्वमा संलग्न सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन तथा मानवीय दायित्वको सम्मान गर्न र नागरिकको सुरक्षाका लागि सम्भव भएसम्म आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
साथै, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनका घटनामा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले हुथी नियन्त्रणमा रहेका बेला मृत्यु भएका राष्ट्रसंघीय कर्मचारी मोहम्मद इब्राहिम अल–शामीको शव परिवारलाई यथाशीघ्र बुझाउन आग्रह गर्नुभयो ।
उहाँले अल–शामीको मृत्युको मिति, कारण र परिस्थितिबारे आवश्यक छानबिन गर्न तथा जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन हुथी अधिकारीहरूसँग आग्रह गर्नुभयो ।
हुथी नियन्त्रणमा रहेका करिब ७० जना राष्ट्रसंघीय कर्मचारीमध्ये अल–शामी पनि एक थिए । राष्ट्रसंघले हिरासतमा रहेका सबै कर्मचारी तथा मानवीय सहायता क्षेत्रमा कार्यरत व्यक्तिलाई तत्काल र बिनासर्त रिहा गर्नसमेत आग्रह गरेको छ । रासस/सिन्ह्वा
