काठमाडौं, २२ चैत्र । आगामी चैत्र २५ गतेबाट देशभर टाइफाइड विरूद्धकाे खोप अभियान सुरु हुने भएकाे छ । नेपालमा बढ्दै गएको टाइफाइडबाट बालबालिका बचाउन सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानको पूर्व तयारी स्वरुप स्वास्थ्य सेवा विभागले मंगलबार टाइफाइड खोप अभियान तथा नियमित खोप सेवामा टाइफाइड खोप समावेश विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । खोप अभियान ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।
चैत्र २५ गते बाट वैशाख १८ गते सम्म सञ्चालन हुने अभियान १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई लगाइने छ। अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा उपलब्ध हुनेछ । टाइफाइड विरुद्धको खोप पूर्ण सुरक्षित भएकाले स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समुहको प्रत्येक बालबालिकाले ढुक्क भएर लगाउन विभागले अनुरोध गरेको छ ।
