काठमाडौं, २३ चैत्र । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हात पारेको छ । लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि तीन एकको जित निकालेको हो ।
लिसवोआ पोर्चुगलमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले गोल गरे । घरेलु टोली बेन्फिकाका डार्विन नुनेजले एक गोल फर्काए । खेलको १७औं मिनेटमा इब्राहिमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।
३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४९औं मिनेटमा डार्विन नुनेजले राफा सिल्भाको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको जित पक्का गरे । यो जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब १३ अप्रिलमा घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले यही नतिजा कायम राख्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ । दुई शून्यको हारले पनि लिभरपुलले सेमिफाइनलमा पुग्नेछ । बेन्फिकालाई सेमिफाइनलमा प्रवेश गर्न कम्तीमा पनि तीन शून्य गोलको जितको खाँचो छ ।
