काठमाडौं, २४ चैत्र । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध खेल्दा लगाएको जर्सी लिलामीमा राखिने भएको छ ।
इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा दुई गोल गरेका म्यारोडोनाको दुबै गोल विश्वकप इतिहासमा निकै चर्चित छन् । इङ्लिस टोलीविरुद्धको पहिलो गोल ‘ह्यान्ड अफ गड’ को उपनामले चर्चित छ भने दोस्रो गोलले २०औं सताब्दीको उत्कृष्ट गोल घोषित भएको थियो । म्याराडोनाको गोलप्रेरित अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो ।
उक्त खेलमा म्याराडोनाले लगाएको ‘आइकोनिक’ निलो जर्सी हाल इङ्ल्यान्डका पूर्व मिडफिल्डर स्टिभ होजको स्वामित्वमा छ । लिलामीमा राखिने भएसँगै जर्सी चार मिलियन पाउन्डमा बिक्री हुने अनुमान गरिएको छ । सन् २०२० को नोभेम्बरमा म्याराडोनाको मृत्यु भएपछि त्यसबेला होजले जर्सी बिक्री नगर्ने बताएका थिए ।
हाल म्याराडोनाको उक्त जर्सी होजले इङ्ल्यान्डको ‘नेशनल फुटबल म्युजियम’ लाई ऋणमा दिएका छन् । पछिल्लो २० वर्षदेखि म्युजियममा रहेको उक्त जर्सी लिलामीमा राखिने भएको हो । सोही विश्वकपको उपाधिसँगै म्याराडोनाले आफूलाई ‘लेजेन्ड’ फुटबलरको रुपमा उभ्याएका थिए ।

