काठमाडाैं, २५ चैत्र । क्याटलान क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्कफुर्टसँग एक एक गोलको बराबरी खेलेको हो ।
फ्रान्कफुर्टमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली फ्रान्कफुर्टका लागि अन्सगर नाफले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काए। ४८औं मिनेटमा अन्सगर नाफको गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । कर्नरबाट आएको बललाई उनले हाफ भलीमार्फत गरेको प्रहारले पोस्टको दिशा लिदा बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउने प्रयास गरेपनि सफल हुन सकेन।
एक गोलले पछि परेको बार्सिलोनाले ६६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । फेरान टोरेसले फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए। ७८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुगेपनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन । पेड्रीमाथि फउल गरेपछि टुटा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो।
यो बराबरीसँगै दुवै टोलीले सेमिफाइनल पुग्ने समिकरण रहँदा बार्सिलोनालाई अवे गोलको फाइदा हुन सक्नेछ । दोस्रो लेगमा यही नतिजा कायम रहे बार्सिलोना अवे गोलको आधारमा अघि बढ्नेछ। दोस्रो लेग १४ अप्रिलमा बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ। फ्रान्कफुर्टलाई अघि चरण प्रवेश गर्न जित आवश्यकता पर्नेछ।
त्यस्तै ब्रागाले रेन्जर्सलाई एक शून्यले हराउँदै सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ। ४०औं मिनेटमा रुइजले गरेको गोल ब्रागाले अग्रता लिएको थियो।
वेस्ट हम भने लियोनसँग एक एक को बराबरीमा रोकिएको छ। ५२औं मिनेटमा जारोड बावेनले गरेको गोलमा वेस्ट हमले अग्रता लिएको थियो । ६६औं मिनेटमा तन्गाई एनडोम्बेलेले गरेको गोलमा लियोन खेलमा फर्किएको थियो।
जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिक र एट्लान्टाले पनि क्वार्टरफाइनल पहिलो लेगमा एक एक को बराबरी खेलेका छन्।
