काठमाडौं, ३० चैत्र। नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि२० आई वरियतामा ठूलो छलाङ मार्दै अलराउन्डरतर्फ १० औं स्थानमा उक्लिएका छन्। आइसिसीले जारी गरेको नयाँ वरियतामा टि२० आईको अलराउन्डर तर्फ शीर्ष १० मा अटाएका छन्।
दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहास कै उत्कृष्ट वरियतामा परेका हुन्। आइसिसीको कुनैपनि वरियतामा शीर्ष १० मा अट्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । यसअघि टि२० आईमा पूर्व कप्तान पारस खड्का अलराउन्डरतर्फ २५ औं स्थान थिए। जुन सर्वाधिक उपलब्धी थियो। दीपेन्द्र ब्याटिङतर्फ नयाँ वरियतामा ३८ औं स्थानमा छन्। कुशल भुर्तेल ३६ औं स्थानमा छन्।
आरिफ शेख ९९ औं स्थानमा छन्। टि२० आईको बलिङतर्फ सन्दीप लामिछाने ३८ औं र अभिनाश बोहरा ८६ औं स्थानमा छन् । टि२० आईको अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्षस्थानमा छन्। नेपाललाई अघिल्लो साता मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० आई सिरिजमा अपराजित रहँदै च्याम्पियन बनाउन दीपेन्द्रले कीर्तिमानी शतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए।
