काठमाडौं, ८ बैशाख विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने कार्यक्रम रहेको छ। उनी आज दिउसो साढे १२ बजे काठमाडौं आउने छन्।
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका डब्ल्यूएचको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् ।
तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
