काठमाडौं, ८ वैशाख । इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार ब्राइटनललाई ३–० ले पराजित गरेसँगै म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्किएको छ । ब्राइटनविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउन सिटीका रियाद महारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।
सिटीले तीनै गोल दोस्रो हाफको गरेको थियो । यसअघि मंगलबार म्यानचेस्टर युनाइटेडविरुद्ध ४–० को जितसँगै लिभरपुल शीर्ष स्थानका उक्लिएको थियो । यद्यपि, पेप ग्वार्डिओलाको टोली सहज जितसहित २४ घण्टामै पुनः शीर्ष स्थानका फर्किएको हो ।
शीर्ष स्थानको सिटीले ३२ खेलबाट ७७ अंक जोड्दा लिग उपाधिका लागि पछ्याइरहेको लिभरपुलले समान खेलबाट ७६ अंक जोडेको छ । लिगमा अब ६ खेलमात्र बाँकी छन् । यस्तै, प्रिमियर लिगअन्तर्गत बुधबार भएको अन्य खेलहरुमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गर्दा लेस्टर सिटी र एभर्टनले १–१ को बराबरी खेले ।
