गुटमै उम्मेदवार छान्न सकस

गुटमै उम्मेदवार छान्न सकस


  • 7.6K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    गुटमै उम्मेदवार छान्न सकस

     

    images

    नेपालगन्ज, मंसिर १२ । नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि शुक्रबार बादशाह कुर्मीले सभापति पदमा उम्मेदवारी घोषणा गर्दा संस्थापन पक्षलाई साझा उम्मेदवार बनाउन हम्मेहम्मे भएको सन्देश दियो ।

    संस्थापनबाटै सभापतिमा प्रदेशमन्त्री सुरेन्द्र हमाल, निरञ्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह र राजकुमार बर्मा पनि आकांक्षी छन् । गुटभित्रै आकांक्षीबीच सहमति नहुँदै पूर्वसांसदसमेत रहेका कुर्मीले आफूखुसी उम्मेदवारी घोषणा गर्दा संस्थापन पक्षलाई नेतृत्वका लागि उम्मेदवार टुंग्याउने फलामको चिउरा चपाउनु जस्तै भएको छ ।

    संस्थापन समूहले गुटभित्रै मेलमिलापको सन्देश दिन साझा उम्मेदवारी घोषणा गर्न चाहान्थ्यो तर कुर्मीको उम्मेदवारीले गुटभित्रै नेतृत्वका लागि हानथाप भइरहेको सन्देश दिएको छ । सभापति पदका आकांक्षी कसैले पनि अडानबाट पछाडि नट्ँदा संस्थापन पक्षलाई सकस भएको छ ।

    सभापतिका आकांक्षी पाँच जनामध्ये कुर्मीले पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । कुर्मीले आफू शेरबहादुर देउवाको उम्मेदवार रहेको दाबी गर्नुभयो ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकेको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आइतबारदेखि सुरू हुने भनिए पनि आन्तरिक टीम व्यवस्थापनमा समस्या हुँदा केही पर धकेलिएको छ ।

    पहिलो दिन मतदाता नामावली प्रकाशन, मनोनयन फाराम वितरण गरिएको थियो । सोमबार बिहान ९ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता र साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची थियो ।

    नेपाली कांग्रेसका एक नेताका अनुसार, दुवै समूहले आ–आफ्नो प्यानल व्यवस्थापन गर्न नसक्दा र अन्य विषयमा सहमति नजुट्दा जिल्ला अधिवेशन सारिएको हो ।

    निर्वाचनका लागि संस्थापत इतर समूहलार्ई पनि उम्मेदवारहरू छान्न भने सकस छ । गुटभित्र नै आकांक्षी धेरै भएपछि उम्मेदवारी छनोटमा समस्या देखिएको ती नेताले बताए ।

    सभापतिसहित अन्य पदका लागि सबैभन्दा धेरै संस्थापन पक्षमा देखिएका छन् । सभापतिका आकांक्षी हमालले उम्मेदवारीको विषयलाई लिएर आइतबार आफू पक्षीय नेता÷कार्यकर्तासँग छलफल गर्नुभएको छ ।

    सभापतिसहित अन्य पदमा धेरै आकांक्षी देखिएपछि कसलाई कुन पदमा उठाउने भनेर छलफल भइरहेको संस्थापन पक्षका एक नेताले जानकारी दिनुभयो । संस्थापन इतर समूहले नारायणप्रसाद गौडेललाई सभापति पदमा अगाडि सारेको छ । यो समूहभित्र अन्य पदमा धेरै जनाले दाबी गर्दा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसकेको छैन ।

    ‘सभापतिको लागि टुंगो लागिसकेको छ’, संस्थापन इतर समूहका एक नेताले भने, ‘अन्य पदमा केही समस्या देखिएको हो । आकांक्षीहरूसँग छलफल गरेर सोमबार बिहानसम्म टुंगो लाग्छ ।’

    जिल्लाका आठ पालिकामध्ये पाँच वटा पालिकामा संस्थापन पक्ष हाबी देखिएको छ । क्षेत्रीय सभापतिमा पनि संस्थापन पक्षले दुई क्षेत्रमा जित्दा संस्थापन इतर समूहले एक क्षेत्रमात्रै जितेको छ । 
    कांग्रेसको जिल्ला निर्वाचन भोलि मंगलबार हुँदैछ । दुवै समूहले आज (सोमबार) बिहानसम्म उम्मेदवार टुंगो लगाउनु पर्ने बाध्यता छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा