गठबन्धनमा केन्द्रकाे निर्णय लागुभएन : केही ठाउँमा फिर्ता महत्वपूर्ण स्थानीय तहमा बागी उम्मेदवार कायमै

गठबन्धनमा केन्द्रकाे निर्णय लागुभएन : केही ठाउँमा फिर्ता महत्वपूर्ण स्थानीय तहमा बागी उम्मेदवार कायमै


  • 8.6K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    गठबन्धनमा केन्द्रकाे निर्णय लागुभएन : केही ठाउँमा फिर्ता  महत्वपूर्ण स्थानीय तहमा   बागी उम्मेदवार कायमै

    काठमाडाैं,१७ वैशाख । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलगत स्वतन्त्र र विद्रोही स्वतन्त्र गरी एक लाख ५३ हजार उम्मेदवारी दर्ता भएका छन् ।  उम्मेदवारी फिर्ता गर्नेउ समय आयोगले १६ गते साँझ ५ बजे सम्म तोकेको थियो ।

    images

    स्थानीय तहको निर्वाचनमा धेरैको ध्यान तानेको स्थानमा पर्छ चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा गठबन्धन दलले माओवादीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई उठाएको छ । तर, बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गर्ने धेरैले आस गरेको भएपनि उनले फिर्ता गरेनन ।  उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ गएपनि पौडेलले उम्मेदवारी कायमै राखे । 

    २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीलाई कांग्रेसले मेयर पदमा सघाएको थियो। अहिले गठबन्धन गर्दा पुनः मेयर दिँदा चितवनका कांग्रेसी नेता–कार्यकर्ता रुष्ट छन्। त्यहाँ उनीहरूको साथ बागी उम्मेदवार पौडेललाई नै छ। तर, कांग्रेसले भने निर्वाचन तालिकाअनुसार शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिएपछि राष्ट्रियसभाका पूर्वसांसदसमेत रहेका पौडेललाई पार्टीबाट निष्कासन गरेको छ। 

    उनका प्रस्तावक रहेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल पनि कारबाहीमा परेका छन्। उनीहरूलाई पनि पार्टीले निष्कासन गरेको छ ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठबन्ध दलको बैठक बसेर सबै बागीलाई उम्मेदवार फिर्ता गर्न अपिल पनि गरेको थियो। तर, धेरै स्थानीय तहमा उम्मेदवारहरुले पार्टी केन्द्रको अपिल मानेनन् । उनीहरुलाई कारबाहि गर्ने कांग्रेसले जनाएको छ । 

    पोखरामा बागी उम्मेदवार कायमै

    पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले मनोनयन फिर्ता गरेनन्। उनले पार्टीले कारबाही गर्नुपरे आफूलाई नगरी सभापति शेरबहादुर देउवालाई गर्नुपर्ने प्रतिक्रिया दिएका छन्। मेयरमा उम्मेदवारी दिएका जिल्ला पूर्वकोषाध्यक्ष ऋषि सापकोटा र नेता नन्दप्रसाद तिवारीले भने पार्टीको निर्देशनबमोजिम उम्मेदवारी फिर्ता लिए। 

    पोखरामा कांग्रेससहितको गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन्। कांग्रेसबाट उपमेयरमा कोपिला रानाभाटको उम्मेदवारी छ। ३३ वटा वडामा गठबन्धन गर्ने प्रयास भने पोखरामा सफल भएन। कांग्रेस र माओवादी तथा समाजवादीबीच वडाध्यक्षमा भागबन्डा नमिल्दा परेको उम्मेदवारी फिर्ता भएको छैन। 

    जनकपुरमा गठबन्धनविरुद्ध बागी उम्मेदवार फिर्ता भएन

    जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नगर सभापति मनोज साहले उम्मेदवारी फिर्ता लिएनन्। सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालको तर्फबाट लालकिशोर साहले उम्मेदवारी दिएका थिए।  तर, गठबन्धनको निर्णय चित्त नबुझाएका साहले पनि उम्मेदवारी दिएका हुन्। उनले पार्टीबाट दबाब आए पनि उम्मेदवारी फिर्ता लिएनन्।

    महोत्तरीको बर्दिबासमा कायमै 

    महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता प्रह्लादकुमार क्षेत्रीले पार्टीको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध लड्ने भएका छन्। उनले प्यानल बनाएर मेयरदेखि वडास्तरमा पार्टीको उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनाएका थिए। शुक्रबार साँझ क्षेत्रीलाई समर्थन गर्दै वडाहरूबाट बागी बनेका उम्मेदवारहरूले भने मनोनयन फिर्ता लिएका छन्। पार्टीको अनुरोधलाई स्वीकार गर्दै माओवादी केन्द्रका नेता रुद्र सुस्लिङले दिएको बागी उम्मेदवारी भने फिर्ता लिएका छन्। माओवादीले मेयरमा राजु खड्कालाई अघि सारेको छ। यहाँ सत्तारूढ दलको गठबन्ध भएको छैन।

    विराटनगर मेयर पदबाट ३ जना पछि हटे

    विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकामध्ये तीन जनाले फिर्ता लिएका छन्। मेयरमा मनोनयन दर्ता गराएका राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र उम्मेदवार नेकपा (माओवादी केन्द्र) की केमुना ओडारी (मैनाली)ले उम्मेदवारी फिर्ता लिएका हुन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उम्मेदवारी फिर्ताको समय सकिँदासम्म तीन जना मेयर र दुई जना उपमेयर पदका उम्मेदवारले मनोनयन फिर्ता लिए। उपमेयरको उम्मेदवारी फिर्ता लिनेमा परिवार दलका दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला छन्। महानगरभित्र जम्मा २३ जनाले उम्मेदवारी फिर्ता लिएको बुढाथोकीले बताए।

    उनका अनुसार ७ जना वडाध्यक्ष र ११ जना वडा सदस्यहरूले मनोनयन फिर्ता लिए। जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र उपमेयरकी उम्मेदवार माओवादीकी केन्द्रकी नमिता न्यौपानेले दर्ता गराएको उम्मेदवारी कायम राखेका छन्। 

    नेपालगन्जमा बागीले लिए उम्मेदवारी फिर्ता 

    बाँकेका दुई नगरमा सत्ता गठबन्धनबाट बागी बनेका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंका अनुुसार नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ ताराकुमारी खत्रीले उम्मेदवारी फिर्ता लिएकी छन्। 

    नेपालगन्जमा ६ जना वडाध्यक्ष, ३ जना महिला सदस्य, २ जना सदस्य र १ जना दलित सदस्यले पनि उम्मेदवारी फिर्ता लिएका हुन्। कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम शर्मासहित १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसबाट नगर प्रमुखका आकांक्षी शर्माले टिकट नपाएपछि उम्मेदवारी दिएका थिए। 

    यसैबीच स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका एक वडाअध्यक्ष र दुई वडा सदस्यको उम्मेदवारी रद्द भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागार्इंका अनुुसार नेपालगन्ज– १७ मा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकलाई बैंकले कालोसूचीमा राखेकाले र वार्ड नं. ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी वंशाकार र वडा नं ७ का सञ्जु वंशाकारले रीतपूर्वक सबै डकुमेन्ट पेस नभएका कारण उम्मेदवारी रद्द भएको हो।

    पाल्पामा ७४ जनाले दिए उम्मेदवारीले फिर्ता 

    पाल्पामा पार्टीको सहमतिविपरीत उम्मेदवारी दिएका ७४ जना उम्मेदवारले मनोनयन दर्ता फिर्ता गरेका छन्। मनोनयन दर्ता फिर्ता गर्नेहरूका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी विप्लव, नेसनल मंगोल अर्गनाइजेसन पाटी सम्बद्ध उम्मेदवारहरू रहेका छन्।  बागी उम्मेदवारहरूले पार्टीले टिकट वितरण गर्दा राजनीतिक योगदान, क्रियाशीलताभन्दा पनि धनी, प्रशस्त पैसा खर्च गर्ने व्यक्ति हेरेर टिकट वितरण गरेको असन्तुष्टिको स्वरूप बागी उम्मेदवारी परेको जनाएका छन्। 

     

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • तेस्रो आँखा
    लेखकबाट थप