काठमाडौं, १७ वैशाख । फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मन (पिएनजी) र स्ट्रासबर्गले बराबरी खेलेका छन्। लिग च्याम्पियन बनिसकेको पिएसजलीले शुक्रबार स्ट्रासबर्गसँग ३–३ को बराबरी खेलेको हो ।
स्ट्रासबर्गको मैदानमा भएको खेलको तेस्रो मिनेटमा केभिन गामेइरोले गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। तर, २३औं मिनेटमा किलियन एमबाप्पेले गोल गरेको पिएसजी खेलमा फर्किएको थियो । खेलको ६४औं मिनेटमा अस्रफ हाकिमीले पिएसजीलाई २–१ को अग्रता दिलाएका थिए । यस्तै, ६८औं मिनेटमा एमाबाप्पेले गोल गर्दा पिएसजीले ३–१ को सहज अग्रता कायम गरे पनि त्यसलाई जोगाउन सकेन ।
७५औं मिनेटमा मार्को भेराट्टीबाट आत्मघाती गोल भए पछि घरेलु टोलीले पिएसजीको अग्रता कम गरेको थियो । यस्तै, इन्जुरी समयमा एन्टोनियो काकीलले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो । यसअघि नै लिग च्याम्पियन बनिसकेको शीर्ष स्थानको पिएनजीले ३५ खेलबाट ७९ अंक जोडेको छ । यस्तै, समान खेलबा ५७ अंक जोडेको स्ट्रासबर्ग तालिकाको पाँचौ स्थानमा छ ।
