काठमाडौं, २४ वैशाख । विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ ।
शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा शनिबार च्याम्पियन बन्न सोझो सेटमा जित निकाल्नुपर्ने खेलमा सोही अनुसारको नतिजा आत्मसात गर्न सफल भयो । पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा पनि आर्मीले उच्च प्रदर्शनलाई निरन्तरता दिदै २५–२० को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
आर्मीले चार खेलबाट ९ अंक जोड्यो । समान ९ अंक नै रहेपनि पुलिस र एपिएफ म्याचको आधारमा पछि पर्यो । एभरेस्टले २ तथा डायमन्डले १ अंक जोड्यो । आर्मीले महिला भलिबल सुरु गरेयता फाइनलसम्म पुगेपनि उपाधि भने जित्न सकेको थिएन । यसअघि आर्मी २०७६ मा पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यसपछि गत वर्ष पोखरामा भएको टाइगर कपमा आर्मी एपिएफसँग नै पराजित हुँदै उपाधि विमुख बनेको थियो ।
