काठमाडौं, २५ वैशाख । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४–० ले पराजित भएको छ । शनिबार राति भएको खेलमा शीर्ष चारको दौडबाट बाहिरिसकेको युनाइटेडले घरेलु टोली ब्राइटनसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोलीका मोइसेस काइसेडो, मार्क कुकुरेल्ला, पास्कल ग्रस र लियान्द्रो ट्रोससार्डले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा तीन गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो । ब्राइटनले खेलको १५औं मिनेटमा मोइसेस काइसेडोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ४९औं मिनेटमा मार्क कुकुरेल्लाले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अग्रसर गराए ।
६०औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गरेपपछि ब्राइटन खेलमा ४–० ले अघि बढ्यो । खेलमा ४–० ले पछि परेको पाहुना टोली युनाइटेडले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । यो जितसँगै ब्राइटन ३६ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा रहेको छ । पराजित युनाइटेड ३७ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अब युनाइटेडले एक खेल खेल्न बाँकी रहँदा अर्को सिजनको लागि युरोपा लिगमा छनोट हुने सम्भावना पनि न्युन बनेको छ ।
