काठमाडौं, २९ वैशाख । सिरी ‘ए’ प्रतिद्धन्द्धी युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । रोमामा बुधबार राति भएको खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इनटर च्याम्पियन बन्न सफल भएको हो ।
इन्टरलाई च्याम्पियन बनाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक गोल गरे । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्विदा इन्टरले बाजी मार्न सफल भयो ।
खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाए । उनले मार्सेलो ब्रोजोभिचको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल थप्दै युभेन्ट्सले खेलमा अग्रता लिन सफल भएको थियो ।
५०औं मिनेटमा एलेक्स सान्द्रोले तथा ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । ८०औं मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए ।
९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमा गोल गर्दै खेललाई इन्टरलाई खेलमा ३–२ ले अघि बढाए । १०२औं मिनेटमा पेरिसिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । १०४औं मिनेटमा युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रातो कार्ड खाँदै टच लाइन छाड्नुपरेपछि युभेन्ट्स समस्यामा पर्दा पराजित हुन पुग्यो ।
