कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोधन गर्दै उहाँले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । प्रकृतिको संरक्षण गर्दै विकासका काम गर्न उहाँले अनुरोध गर्नुभयो ।
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकाले सर्तकता अपनाउनु भन्दै उहाँले नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा सबै नेपालीले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने सुझाव दिनुभयो ।
कपिलवस्तुको बाणगंगा– २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७औँ धन-धान्याञ्चल महायज्ञमा सहभागी हुन उहाँ कपिलवस्तु आउनुभएकाे हाे ।
एक सय २७ फिट अग्लो ज्योतिर्लिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका दुईवटा प्रवेशद्वार, अष्टचिरञ्जीवीका मूर्ति र विश्रामलयको अनावरण गर्नुभएकी राष्ट्रपति भण्डारीले आश्रम परिषरमा रहेको दुर्गा मन्दिरमा पूजा-अर्चनासमेत गर्नुभयो ।
राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरूकुलबाटै भएकाले धर्म तथा संस्कृति संरक्षण गर्न राज्यका तर्फबाट काम भएको दाबी गर्नुभयो । हाम्रो संस्कति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो- ‘हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जीवन हो । प्रकृतिको आनन्द लिन स्वस्थ्य हुनुपर्छ । यसका लागि प्रकृतिको संरक्षण गर्नुपर्छ ।’
कार्यक्रममा नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रियसभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीसमेत उपस्थित हुनुहुन्थ्यो ।
महायज्ञ २२ मंसिरसम्म चल्ने महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले जानकारी दिनुभयो ।
जानु पाण्डे/न्युज कारखाना
