काठमाडौं, २५ जेठ । नेपालको राजधानी काठमाडौंमा फोहोर व्यवस्थापन विगत देखिनै पेचिलो समस्याको रुपमा रहँदै आएको छ । यहाँ फोहोर व्यवस्थापन धेरैको लागि एजेन्डा बन्यो तर हाल सम्म यसको समाधान हुन सकेको छैन । काठमाडौं उपत्यकाका स्थानीय तहबाट लगभग दैनिक १२ सय टन फोहोर निस्कने गरेको छ । यसमध्ये काठमाडौं महानगरपालिकाबाट सबैभन्दा बढी पाँच सय १६ टन फोहोर निस्कने गरेको छ ।
उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटा पालिकाको फोहोर व्यवस्थापन सिसडोलमा हुँदै आएको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सय भन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फोहोर लैजाने गरेका छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा हाल एक सय ५० ट्रकले एक हजार टन भन्दा बढी फोहोर फालिरहेका छन् । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट हाल नबन्दा उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ ।
फोहोर व्यवस्थापनलाई नै मुख्य एजेन्डा बनाएर काठमाडौं महानगरको नेतृत्वमा बालेन्द्र शाह (बालेन) आइपुगेका छन् । उनी यो बीचमा फोहोर व्यवस्थापनकै लागि सिसडोलमा दुई पटक पुगिसकेका छन् भने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग दुई पटक भेटवार्ता गरिसकेका छन् । तर काठमाडौंको फोहोर अझै उठ्न सकेको छैन । तत्कालका लागि सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागेको भएपनि मेयर शाहले बन्चरेडाँडा र मेसिनलाई दिर्घकालीन फोहोर व्यवस्थापनको लागि जोड दिएका छन् ।काठमाडौंको फोहोर व्यवस्थापन हरेक नेतृत्वको लागि सबैभन्दा ठूलो चुनौतीको पहाड बनेको छ । संझौता गरेका सिसडोलबासीले पूनः फोहाेर व्यवस्थापनमा अवरोध गरेका छन् । दुइहप्तादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन् ।
न्युयोर्क सिटीले कसरी गर्छ फोहोर व्यवस्थापन ?
न्युयार्क सिटीमा एक वर्षमा १४ मिलियन टन भन्दा बढी फोहोर उत्पादन हुने गरेको छ । न्युयोर्कको फोहोर व्यवस्थापनका लागि फोहोर उठाउन मात्र ट्रक, रेल र बार्ज गरि एक हजार छ सय ६८ साधनहरु प्रयोग हुने गर्छन् । त्यसबाहेक त्यहाँ २४८ वटा नीजि फोहोर ओसार्ने कम्पनीहरु रहेका छन् । एक समय ८० प्रतिशत फोहोर समुन्द्रमा फ्याक्ने न्युयोर्क सिटीले सबैभन्दा दिर्घकालिन फोहोर व्यवस्थापन अन्तर्गत खरानी, भग्नावशेष र अन्य फोहोर कृत्रिम भूमि बनाउन प्रयोग गरेको थियो । त्यसकारण न्युयोर्कको जमिनको ठूलो भाग र अहिलेका धेरै क्षेत्रहरु फोहोरबाट बनाइएको बताइन्छ ।
अहिले न्युयोर्क सिटीले बार्षिक १४ मिलियन टन फोहोर व्यवस्थापन सार्वजनिक र निजी गरी दुई तरिकाबाट गर्ने गरेको छ । सार्वजनिक प्रणालीले आवास र सरकारी भवनहरुका साथै केही गैर नाफामुलक निकायका फोहोर व्यवस्थापन गर्दछ । जुन सो शहरको कुल फोहोरको एक चौथाई हो । त्यस्तै त्युयार्कको फोहोरको अन्य तीन चौथाई फोहोर व्यावासयिक व्यवसायहरुद्वारा उत्पादन हुन्छ । न्युयोर्कमा कागज, धातु, काँच, प्लाष्टिक छुट्टै राख्ने गरिन्छ । त्यस्तै पुन प्रयोग गर्न नमिल्ने कुहिने मिश्रित ठोस फोहोर छुट्टै राखिन्छ । न्युयोर्कको पुन प्रयोग गर्न नसकिने कुहिने खालेको मिश्रित ठोस फोहोरको ८० प्रतिशत ल्यान्डफिल साइटमा लगिन्छ ।
हाल न्युयोर्कले पुराना ल्यान्डफिल साइटहरुलाई पार्कमा परिणत गर्ने प्रयास गरिरहेको छ । अहिले न्युयोर्क सिटीको फोहोर सिटी बाहिरका ल्यान्डफिलहरुमा जाने गरेको छ । त्यस्तै २० प्रतिशत फोहोरबाट उर्जा उत्पादन गर्ने प्लान्टमा लगिने गरिन्छ । कागज र धातु लगायत प्लास्टिकको फोहोर रिसाइकल गर्न मिल्ने रिकभरी केन्द्रका विशेष प्लान्टहरुमा लगिन्छ । न्युयार्कले केहि फोहोर भारत र चीनमा निर्यात गर्दछ भने केहि अन्तराष्ट्रिय एजेन्ट मार्फत बेच्ने गर्दछ । केहि विशिष्ट वस्तुहरु छुट्याएर तिनीहरुको अन्तिम प्रयोगकर्ताहरु अर्थात क्रेटहरु, कोका कोला बोटलिङ प्लान्ट, बियरका बोटलहरु बियर कम्पनीलाई बेच्छन् ।
न्युयोर्क सिटीको फोहोर व्यवस्थापनबाट काठमाडौंले के सिक्न ?
हुनत न्युयोर्क सिटीमा फोहोर व्यवस्थापनलाई अझै पनि मुख्य समस्याको रुपमा लिइन्छ । न्युयोर्क सिटीले फोहोर व्यवस्थापनमा लगभग बार्षिक दुई दशमलव तीन बिलियन डलर खर्च गर्दछ । न्युयोर्कको तुलनामा काठमाडौंको फोहोरको मात्रा निकै कम भएको कारणले न्युयोर्कले फोहोर व्यवस्थापनका लागि अपनाउँदै आएका उपायहरु काठमाडौंका लागि निकै प्रभावकारी हुन सक्दछन् ।
न्युयोर्क सिटीबाट काठमाडौंले हरेक प्रकारका फोहोर अलग अलग छुट्याउन आवश्यक छ । त्यहाँ जस्तै काठमाडौंको फोहोरले भग्नावशेष थुपारेर मानव निर्मित स्थलहरु बनाउनु पनि यहाँको फोहोर व्यवस्थापनका लागि उपयुक्त उपाय हुनसक्छ । न्युयोर्कले आफ्नो २० प्रतिशत फोहोरबाट ऊर्जा उत्पादन गरे जस्तै काठमाडौंले फोहोरलाई उर्जामा बदल्न सके दोहोरो फाइदा हुने देखिन्छ । रिसाइकल गर्न मिल्ने फोहोरहरुलाई न्युयोर्कमा जस्तै रिसाइकल गर्न सकिन्छ भने पुन प्रयोगयोग्य फोहोरलाई प्रशोधन गर्न सकिन्छ । वा प्रशोधन केन्द्रलाई बेच्न सकिन्छ ।
यहाँको फोहोरलाई न्युयोर्कले भारत, चीनमा निर्यात गरे जस्तै अन्य मुलुकहरुमा विभिन्न कम्पनीलाई कच्चा पदार्थकोरुपमा निर्यात गर्न सकिन्छ । फोहोरबाट जैविक मल उत्पादन गरी खेतिबाली लगाउँन सके सबैभन्दा यहाँ दोहोरो फाइदा हुनसक्छ । फोहोरका प्रभावहरु विरुद्ध लड्न न्युयोर्क शहरले सन् २०३० सम्म ल्यान्डफिलहरुमा फोहोर पठाउन नै बन्द गर्ने लक्ष्य लिएको छ । जसबाट नेपालले दिर्घकालीन व्यवस्थापनका योजनाहरु बनाउन सक्छ । काठमाडौंले न्युयोर्कको जस्तै कानून नै निर्माण गरेर दिर्घकालीन व्यवस्थाको योजना बनाउने तर्फ पनि ध्यान दिनु पर्ने हुन्छ ।
न्युयोर्कले अनेकौँ उपाय र वार्षिक दुई दशमलव तीन बिलियन डलर खर्च गर्दा पनि समाधान गर्न ठूलो चुनौति बनेर अडिएको फोहोर व्यवस्थापन नेपालले समयमै उचित उपाय अपनाउन सकेको खण्डमा दिर्घकालिन समाधान हुने र फोहोरबाट मोहोर निकाल्न सकिन्छ । तसर्थ यसप्रति सम्बन्धित निकायले समयमै सोच बदल्न र फोहोर व्यवस्थापनमा अन्य मूलुकहरुबाट समेत केही सिक्न आवश्यक छ ।
पदम भुजेल
