दाङ, १८ मंसिर । दाङमा दुई वर्ष अघि एक युवकको हत्या गरेको ठहर गर्दै चार जनालाई जिल्ला अदालत दाङले जन्मकैदको सजाय सुनाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले हत्याकाे आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।
तुलसीपुर- १२, उरहरीका रामबहादुर वलीको २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
त्यस घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम मल्ल, तेजेश पीएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्षकाे कैद सजाय सुनाइएको छ ।
अभियुक्त ठकुरीले यस अघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको आरोप लागेको र त्यतिबेला १५ वर्षमात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधारगृह पठाएको प्रहरीले जनाएको छ । तर, उनी सुध्रिनुको साटो विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको र त्यही अन्तर्गत वलीको हत्यासम्मको घटना भएको प्रहरीको भनाइ छ ।
