यातायात व्यवस्था कार्यालयमा डिजिटल ठगीकाे बिगबिगी

यातायात व्यवस्था कार्यालयमा डिजिटल ठगीकाे बिगबिगी


  • 8.2K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    यातायात व्यवस्था कार्यालयमा डिजिटल ठगीकाे बिगबिगी

    काठमाडाैं,९ असार । नागरिकको सबैभन्दा बढी भिड हुने सरकारी निकाय यातायात व्यवस्था कार्यालयमा डिजिटल ठगी धन्दा मौलाएको छ । विचौलियाको  बिगबिगी बढेको र कर्मचारीकै सेटिङ मौलाएको घुस काण्ड अन्त्य गर्न र नागरिकलाई सहज–सरल सेवा दिन सरकारले डिजिटल प्रणली सुरु गरेपनि बिचौलीया र कर्मचारीले यो प्रणालीको हदैसम्म दुरुपयोग गर्ने गरेको पाइएको हो । डिजिटल प्रणालीबाट सेवा सहज भएपनि यसको दुरुयोग अझ डर लाग्दो बनेर निस्कीएको तथ्यहरु फेला परेका छन् ।  

    images

    सेवाग्राहीको व्यक्तिगत विवरण सिस्टमबाट मेटेर अर्कैको बनाइदिन समेत सकिने भएकाले अहिले विचौलिया र सधै कमाउन पल्केका कर्मचारीहरु डिजिटल सिस्टमबाटै मनग्य कमाउन थालेको पाइएको छ  । यहाँका कर्मचारीहरुले बिचौलियासँग सेटिङ मिलाएर विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका ५३३ सवारी चालक अनुमतिपत्र मोटो रकमको चलखेलमा नयाँ व्यक्तिको नाममा जारी गरिदिएका हुन् । चोरबाटोबाट नयाँ व्यक्तिको नाममा पुनः जारी गरिएका ती अनुमति पत्रहरु एडिट एप्लिकेन्ट भन्ने टुलबाट अरुकै नाममा जारी गरेको खुलेको छ । 

    इडीएलआरएस–भीआरएस स्टिम प्रयोग गर्दा एडिट एप्लिकेन्ट भन्ने टुलबाट जोसुकैको नाममा पनि लाइसेन्स जारी गर्न सकिने भएकाले पछिल्लो समयमा त्यसैलाई उपयोग गरेको पाइएको कार्यालयका एक अधिकृतले बताए  । उनले भने,‘ साथीहरु कमाउने उपाय अनेक खोज्छन, केही बाहिरबाट काम गराइदिनेहरु समेतको संलग्नतामा डिजिटल प्रणलीनै दुरुपयोग गरेर सम्पूर्ण विवरण परिवर्तन गरेर अरुलाई लाइसेन्स दिएको पाइएको छ ।’ 

    यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सूचना अधिकारी कपिल सिलवाल भन्छन, ‘कहिलेकाहीँ चालक अनुमतिपत्र बाहकको नाम, ठेगाना, थर, केही विषय, विवरण गलत भयो भने सच्याउनका लागि राखिएको टुल्स दुरुपयोग भएको पाइएको छ । उक्त टुलस्को दुरुपयोग गरेर एउटा व्यक्तिको नाममा रहेको लाइसेन्सलाई अर्कै व्यक्तिको फोटो, सिग्नेचर, औंठा छापसम्म परिवर्तन गरि अर्कै नामको व्यक्तिको नाममा कायम गर्न सकिने रहेछ, उनले भने । नयाँ पुराना कर्मचारी र केही विचौलिया सहितलाई मुद्धा परेकाले उनीहरु कारबाही प्रकृयामा रहेको उनले बताए । 

    लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरीसमेत गरी १२ जना कर्मचारी र ५ जना बिचौलिया गरी १७ जना बिरुद्ध अख्तियार विशेष अदालतमा मुद्दा हालेको छ ।

    यातायात व्यवस्था सेवा कार्यालय एकान्तकुनाले यो सिस्टम २०७३ साल मंसिरदेखि लागू गरेको थियो । सूचना अधिकारी सिलवाल भन्छन्, ‘सिस्टमको दुरुपयोग गरेर पाँच सय ३३ वटा लाइसेन्स जारी भएको अख्तियारकाे छानविनमा आएको छ । छानविनमा नआएको अरु थुप्रै कति होला। यो प्रणालीमा अत्यन्तै लुपहोल (चोरबाटो) छन्। र, इडीएलआरएस–भीआरएस कमजोर प्रणाली पनि हो ।’  यातायात व्यवस्था कार्यालयका सबैतिर सिसि क्यामेरा जडान छ । त्यसैले पनि कसैले घुस माग्ने आँट गर्दैनन् तर सफ्टवेरबाटै डिजिटल ठगी गर्नु ठूलो अपराध भएको एक कर्मचारीको भनाइ छ ।

    कर्मचारीले बिचौलियासँग सेटिङ मिलाए– सिस्टम दुरुपयोग भएमा सबै सवारी साधन र चालक अनुमतिको विवरण इडीएलआरएस–भीआरएस प्रणालीमा इन्ट्री छ । केही विवरण गल्ती भयो भने सच्याउँने सुविधा पनि यसमा छ । यसको फाइदा उठाउँदै कर्मचारीले बिचौलियासँग मिलेर अर्काको नाममा जारी रहेको लाइसेन्सका विवरण मेटाउँदै नयाँ व्यक्तिको विवरण राखेर चालक अनुमतिपत्र जारी गर्दै विक्री गर्दै गरेको पाइएको हो ।

     यस अघि यातायात कार्यालयमा अनलाइन फारम भरिदिने भन्दै कर्मचारीकै मिलेमताेमा विचाैलियाहरूले व्यापक ठगी गर्ने गरेकाे समाचार तेस्राे आँखा अनलाइनले प्रकाशन गरेपछि बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले अनुगमन गरेका थिए। अनुगमनका क्रममा उनले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन समेत निर्देशन दिएका थिए । 


    जीवन शर्मा
    लेखकबाट थप