- तेस्रो आँखा डेक्स
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत आइतबार बिहान अध्यक्षसहित पदाधिकारीको मतपरिणाम अन्तिम चरणमा पुग्दा अनेकौं अटकल बाजी भए ।
पदाधिकारीमा खसेको मतका आधारमा पार्टीमा नेतृत्व रुपान्तरणको एजेण्डा उठाइरहेका नेता राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुने लगभग पक्कापक्की रहेको अवस्थामा अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष कमल थापाको फेसबुकमा एउटा पोष्ट आयो ।
पराजयलाई सहर्ष स्वीकार गर्दै निर्वाचित अध्यक्ष लिङ्देनलाई बधाइदिंदै निर्मल निवासमा खनिए । उनको त्यो फेसबुक पोष्ट हेर्ने जोकोहीले पनि अनुमान लगाउन सक्छ- थापा निर्वाचनलाई लोकतान्त्रिकले प्रक्रिया भने पनि हारलाई स्वीकार्न सकिरहेका छैनन् । तर, त्यहीबीचमा नवनिर्वाचित लिङ्देनको समर्थनमा भृकुटीमण्डपमा राजतन्त्र, हिन्दुराष्ट्र र लिङ्देनका विजयीमा नारा घन्किएका थिए ।
वि.सं. २०७४ सालको संसदीय चुनावमा प्रतिनिधिसभामा पार्टीको तर्फबाट एकमात्र विजयी नेता लिङ्देनका पक्षमा जनमत बढ्दै थियो । उनलाई पार्टीमा बलियो उपस्थिति राख्ने नेता विक्रम पाण्डे, धवलशमशेर राणा, डा.प्रकाशचन्द लोहनीलगायतका थुपै नेताको सहयोग थियो ।
त्यतिमात्रै होइन, उनले राजतन्त्र, हिन्दुराष्ट्रसँगै पार्टीमा ३१ सम्म हुन नसकेको पुस्ता हस्तान्तरणको विषयले थप प्रभावित बनायो । पार्टीका पुराना नेता श्याम तिम्सिना पार्टीमा सक्षम नेतृत्व आएको दाबी गर्छन् ।
को हुन् लिङ्देन ?
वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनका बुवा पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए । बुवाको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै राजनीतिमा लागे ।
राजनीतिक यात्रा २०३६ सालबाट सुरुगरेका लिङ्देन त्यसै वर्ष राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने ।
वि.सं. २०४९ मा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।
राजनीति गर्ने मात्र होइन राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका लिङ्देनले पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर हारेका थिए ।
उनी विद्यार्थी राजनीतिदेखि नै लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्दै आए । त्यस्तै, उनी झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं. ३ वडाध्यक्ष भए ।
राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बने । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा मनोनयन गरे ।
वि.सं. २०६२ र ०६३ को जन-आन्दोलनमा झापाको विर्तामोडमा राजावादी भएको आरोप लगाउँदै उनलाई कालोमोसोसम्म दलियो । सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनीसमेत गरे । घर ध्वस्त भएपछि उनी परिवारसहित त्यहाँबाट विस्थापित भएर विर्तामोडमा बसोबास गर्दै आएका थिए ।
पैतृक सम्पत्तिमा पहुँच नभएका समयमा उनले केही वर्ष धनकुटा-भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ । ०६२ र ०६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा छाडेनन् ।
संघीय संसदमा प्रवेश
विक्रम संवत २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर- ३ बाट सांसद् निर्वाचित भएका हुन् । लिङदेनले ४४ हजार ६१४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरे ।
राजनीतिक आन्दोलनका क्रममा पटक-पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परे । नाै महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन् । आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन सडक र सदनमा सबैका लोकप्रिय छन् ।
