काठमाडाैं, २० मंसिर । बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य सुरु गरेको छ । प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालिएको हो ।
कृषि तथा पशु, लघु बीमा विस्तारका लागि प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग छलफल गर्न थालिएको समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिए ।
‘बीमाको पहुँच विस्तार गर्नका लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, अधिकारीले भने, ‘त्यसैका लागि समितिले प्रदेश र स्थानीय तहमा लविङ गर्न थालेको हो ।’
गत साता बाग्मती प्रदेशमा छलफल गरेको समितिले आइतबार प्रदेश १ का उच्च अधिकारीहरुसँग छलफल गरेको छ । यस अघि चालु आर्थिक वर्षमै समितिले दुई दर्जन स्थानीय तहहरूसँग समेत छलफल गरेको छ ।
घर तथा पूर्वाधार निर्माण गर्दा नक्सा पास, व्यवसायी दर्ता, प्रदेश तथा स्थानीय सरकारले व्यवसाय गर्नका लागि अनुदान दिँदा बीमा अनिवार्य गर्न समितिले आग्रह गर्दै आएको छ । घर, पूर्वाधार तथा व्यवसायका बीमा भएमा प्राकृतिक विपत्तिको अवस्थामा क्षतिपूर्तिको दायित्व सरकारलाई नपर्ने समितिले जनाएको छ ।
हाल संघीय सरकारले नै बजेटमा घोषणा गरी कृषि तथा पशुधनको बीमा गर्दा कुल प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागू गरेको छ । तर, सर्वसाधारणमा भने अझै सरकारले अनिवार्य गरेको तेस्रोपक्ष बीमा, वैदेशिक रोजगारी म्यादी बीमा र बैैंकबाट ऋण लिनका लागि मात्र बीमा गर्ने प्रचलन बढी छ ।
समितिका अनुसार, गत २०७८ असोजसम्ममा जनसंख्याको आधारमा २४ दशमलव ७६ प्रतिशत नेपालीको पहुँचमा मात्र बीमा पुगेको छ । यस अवधिसम्म जीवन बीमा कम्पनीले ९० लाख नाै हजार २७७ बीमालेख जारी गरी ३८ अर्ब १८ करोड बीमाशुल्क संकलन गरेका छन् ।
यसैगरी, निर्जीवन बीमा कम्पनीले सात लाख ३० हजार ९७७ बीमा लेख जारी गर्दै नाै अर्ब ६९ करोड बीमाशुल्क उठाएका छन् ।
न्युज कारखाना
