काठमाडाैं,१९ असार । राहदानी वितरण प्रक्रियामा ढिलासुस्ती भएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले नेतृत्व गरेको कार्यक्रमका सहभागीहरुले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन राहदानी विभाग अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले महंगीले सतायो, राहदानीले रुवायो, ढिलासुस्ती अन्त्य गरजस्ता नारा लगाएर विरोधमा उत्रिएका थिए। सर्वसुलभ तरिकाले राहदानी वितरण गर्न उनीहरुको माग छ। जिल्ला प्रशासन कार्यालयकाे सिफारिसमा उपलब्ध गराइने राहदानी एक हप्ता देखि २ महिना सकम्म लाग्ने गरेकाे सर्वसाधारणाले बताएका छन् ।
राहदानी विभागले १५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने भएकाले काठमाडौं धाइराख्न नपर्ने स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ ।
विभागले आइतबार सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाएको जानकारी दिएको छ। हाल दैनिकरुपमा विभागमा आवेदन दिनेको संख्या करिब २ हजार चार सय रहेको छ । विभागले हाल दैनिकरुपमा ६५०० राहदानी वितरण गर्दै आएको बताएकाे छ ।
