विद्यार्थी संख्या न्यून हुँदा सरकारलाई बोझ बन्न थाले रोल्पाका सामुदायिक विद्यालय

विद्यार्थी संख्या न्यून हुँदा सरकारलाई बोझ बन्न थाले रोल्पाका सामुदायिक विद्यालय


  • 8.6K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    विद्यार्थी संख्या न्यून  हुँदा सरकारलाई बोझ बन्न थाले रोल्पाका सामुदायिक विद्यालय

    रोल्पा,२६ असार ।  रोल्पा नगरपालिका-७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच୵पाँच जना विद्यार्थीले अध्ययन गर्छन । विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक र विद्यालय सहयोगी एक गरी पाँच जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यहाँ १३ बालबालिका बालविकास केन्द्रमा भर्ना भएका छन् ।

    images

    रोल्पा नगरपालिका(५ मा रहेको ज्ञानज्योती आधारभूत विद्यालय धनडाँडामा दुई छात्रा र आठ छात्र गरी १० जना विद्यार्थीले अध्ययन गर्दछन् । कक्षा तीनसम्म संचालित यो विद्यालयको कक्षा एकमा एक छात्र, कक्षा दुईमा तीन छात्र र कक्षा तीनमा दुई छात्रा र चार छात्रले अध्ययन गर्छन् । यो विद्यालयमा बालविकास शिक्षक, स्वयमसेवक शिक्षक र विद्यालय सहयोगी एक୵एक गरी तीन जना शिक्षक कर्मचारी कार्यरत छन । त्यहाँ सात बालवालिका बालविकास केन्द्रमा भर्ना भएका छन् ।

    रोल्पा नगरपालिका(८ जंकोटमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ । यो विद्यालयमा ९ छात्रा र १० छात्रसहित १९ विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयमा कक्षा एक मा ६, कक्षा दुईमा तीन, कक्षा तीनमा चार, कक्षा चारमा दुई र कक्षा पाँचमा चार जना विद्यार्थीले अध्ययन गर्दछन् । यो विद्यालयमा प्राथमिक तह स्थायी शिक्षक तीन, बालविकास शिक्षक एक र विद्यालय सहयोगी एक गरी पाँच जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यहाँ १३ जना बालवालिका वालविकास केन्द्रमा भर्ना भएका छन् ।

    यी त ‘शैक्षिक हब’को नारा दिएको रोल्पा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रतिनिधि विद्यालय हुन्। नौवटा माध्यमिक र ५७ आधारभूत गरी ६६ वटा सामुदायिक विद्यालय रहेको रोल्पा नगरपालिकाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या न्यून छन् । विद्यालय सुधारका लागि सरकारले बर्सेनि लगानी बढाउँदै लगे पनि रोल्पाका यी विद्यालयमा भने विद्यार्थी संख्या दिनानुदिन घट्दै जाँदा सामुदायिक विद्यालयहरु सरकारका लागि बोझ हुन थालेका छन् ।

    सरकारले कक्षा एक–तीनका लागि हिमालमा ३० पहाडमा ४५ र तराईमा ६० विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी एक(पाँच संचालनका लागि हिमालमा ५०,पहाडमा ७५ र तराईमा १०० विद्यार्थी हुनुपर्ने मापदण्ड तोकेको छ । तर पहाडी जिल्ला रोल्पाको रोल्पा नगरपालिकाभित्रकै विद्यालय नै सरकारको यो मापदण्ड पूरा गरेका छैनन् । एक–तीन चलेका नगरपालिका भित्रका २१ विद्यालयमध्ये १८ विद्यालयमा विद्यार्थी संख्या ४५ भन्दा कम छ । यसैगरी २० भन्दा कम विद्यार्थी संख्या हुने आधारभूत ९१–३० विद्यालय संख्या १० रहेका छन् ।

    कक्षा १–५ चलेका ४६ सामुदायिक विद्यालयमध्ये २७ विद्यालयमा विद्यार्थी संख्या ७५ भन्दा कम छ । यसै गरी १–५ चलेका ११ आधारभूत विद्यालयमा विद्यार्थी संख्या ४० भन्दा कम छ । विद्यालयको यही दुर्दशा देखेर रोल्पा नगरपालिकाले ४ वर्षअघि विद्यालय समायोजनको कार्यक्रम अघि सारे पनि यसले सफलता पाउन सकेन । विद्यालय समायोजनले दुर्गमका विद्यार्थी पढ्नबाट वंचित हुने भन्दै विरोध भएपछि नगरपालिका पछि हटेको थियो । त्यस यता विद्यालय समायोजन कसैको प्राथमिकतामा परेको छैन ।

    विद्यालय संचालनका लागि सरकारले विभिन्न शीर्षकमा ठूलो बजेट खर्च गर्ने गर्दछ । उसले शिक्षक तलब भत्ता, बालविकास शिक्षक,विद्यालय सहयोगी,विद्यालय सहायक कर्मचारी,नगर स्वयमसेवक शिक्षक जस्ता शीर्षकमा ठूलो रकम खर्च गर्ने गर्दछ । यसै गरी भौतिक निर्माण शौचालय प्रवलीकरण, कार्यसम्पादन अनुदान, राष्ट्रपति शैक्षिक सुधार, कम्प्युटर अनुदान, कोभिड स्वास्थ्य सामग्री आदि शीर्षमासमेत बजेट खर्च गरेको हुन्छ ।

    छात्रवृत्ति, दिवा खाजा, वुक कर्नर, निस्शुल्क पाठ्यक्रम, प्रारम्भिक पढाइ कार्यक्रम, शिक्षकको समय सुधार अनुदान शीर्षमासमेत विद्यालयमा बजेट जाने गर्दछन् । विद्यालय संचालन अनुदान, विद्यालय सुधार योजना, तथ्यांक बुलेटिन, इन्टरनेट, प्रति विद्यार्थी बालविकास अनुदान, कक्षा एक विद्यार्थी भर्ना अनुदान आदि अनुदानसमेत सरकारले विद्यालयहरूमा पठाएको हुन्छ ।


    तेस्रो आँखा
    लेखकबाट थप