काठमाडौँ,३ साउन । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ । काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् ।
औलो रोग एनोफिजिल जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उपाय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. किजन महर्जन बताउँछन् । नेपालमा विशेष गरी औलोका दुई परजीवी प्लाज्मोडियम फ्लासिपारम र प्लाज्मोडियम भाइभेक्स जातको पाइने गरेको छ । इडीसीडीका अनुसार यी दुईमध्ये प्लाज्मोडियम गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । यस्तो औलोका बिरामी १५–२० प्रतिशत हाराहारी छन् ।
रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ४९२ जनामा स्थानीय औलो देखिएको थियो । यो सङ्ख्या २०७४/७५ मा ५५७, २०७५/७६ मा ४४०, २०७६/७७ मा १०२ र २०७७/७८ मा ६६ जना थियो । यस्तै, आर्थिक वर्ष २०७८र७९ को वैशाख १० गतेसम्म ३३६ औलोका बिरामीमध्ये २८ स्थानीय थिए ।
डेंगुका बिरामी देखिने गरेका छन् । बिरामी देखा परिसकेपछि आवश्यक प्रतिकारात्मक क्रियाकलाप समयमै पुग्न कठिनाइ हुने गरेको छ । दुई वर्ष यता कोरोनाभाइरस (कोभिड–१९ ) तिर ध्यान जाँदा सरकारको प्राथमिकतामा डेंगु नपरेको स्वास्थ्यकर्मीको भनाइ छ । औलो रोग प्राथमिकता नपरेकाले शङ्कास्पद औलोको परीक्षण कम हुने गरेको उनीहरूको भनाइ छ ।
