तुलसीपुर, १७ साउन । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन् । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उनको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन् ।
शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहेका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन् । दिनभर स्कुलमा व्यस्त हुँदा दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको उनी बताउँछन् । उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेकाे बताए ।
खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ । तत्कालन आम्दानी लिन सकिएको नभउ पनि केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेर खेती गरेकाे उनले बताए ।
दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै छन् । लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन् । २०४५ देखि शिक्षण पेशामा रहेकाे र लामो समय केराघारी स्कुलमा पढाउँदै आएको उनले बताए । अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएकोे उनकाे भनाइ छ ।
आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ । उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उनले बताए ।
पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ ।
