काठमाडौं, १९ साउन। पछिल्लो समयकी निकै चर्चित गायिका मेलिना राईले केही समय अगाडि सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छिन् । मेलीना राईले संगीतकर्मी सञ्जिव बराइलीससँग केही महिना अघि इन्गेजमेन्ट गरेकी थिइन् ।आफूहरूबीच बैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेको अर्थात् आफूहरुको बिचार मेल खान नसकेको भन्दै उनले इन्गेजमेन्ट तोडेको बताएकी छिन् । इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनैपर्छ भन्ने नभएको भन्दै उनले इन्गेजमेन्ट तोडेको उल्लेख गरेकी छिन् ।
हुनत: यहाँ इन्गेजमेन्ट, बिबाह हरेक सम्बन्ध तोडिन्छन् तर यसरी स्पष्ट रुपमा आफ्नो मत राखेर इन्गेजमेन्ट तोड्नु आफैंमा एउटा साहस हो । नेपाली समाज परम्परागत मूल्य मान्यता र रुढीबादी बिचारले ब्याप्त छ । उनलाई आफ्नो यस्तो निर्णलाई धेरैले नराम्रो भन्छन् भन्ने पनि थाहा थियो । तर पनि उनले गरेको यो साहस हरेक मानिसको लागि उसले जीवनमा सिक्नुपर्ने एक महत्वपूण पाठ हो । बिबाह कुनै दुई दिनको खेल होइन, यो त वर्षौं सम्म एकाअर्कालाई सहारा बनाएर, खुसी भएर बिताइने अवधि हो । यसर्थ पनि दुबै बीचको बुझाइमा, विचारमा हरेक कुरामा स्पष्टता हुनु जरुरी छ ।
इन्गेजमेन्ट पछि बिबाह हुनैपर्छ भन्ने वास्तवमा नहुन पर्ने हो । यो केही प्रारम्भिक मिलन र जीवनसाथी बनाउन मिल्ने प्रबल सम्भावना भएपछि जोडिने एक सम्बन्ध हो, जुन बिबाहमा पुग्नुभन्दा अगाडि दुबैले एक अर्कालाई अझ धेरै राम्रोसँग बुझ्ने मौका पाउँदछन् । इन्गेजमेन्ट गरेपछि सो व्यक्तिको बारेमा थप बुझ्ने, घुलमिल हुने र जीवनका बारेमा थप स्पष्ट पार्ने मौका मिल्दछ । यसलाई बिबाह गर्नु अगाडि उपयुक्त जोडी चुन्ने एक विशिष्ट माध्यम पनि मान्नसकिन्छ । प्रत्यक नारी वा पुरुषले एक अर्कामा आफूलाई समाहित गर्नुपूर्व गलत निर्णय नहोस् भन्ने छुट्याउन पाउने अवसरका रुपमा इन्गेजमेन्टलाई लिनु नै प्रभावकारी र उपयुक्त हुन्छ ।
नेपालमा हाल सम्बन्ध बिच्छेदका घटनाहरूको संख्या बढ्दो मात्रामा रहेको छ । भरखरै बिबाह गरेका जोडि देखि सन्तान उत्पादन गरिसकेका जोडीले सम्बन्ध बिच्छेद गरेको देखिन्छ । यसर्थ सन्तानको जन्म भैसकेको अवस्थामा भन्दा बिबाह अगाडि इन्गेजमेन्टको समयमा राम्रो गरि एक अर्कालाई बुझेर बिबाह गर्ने वा नगर्ने निर्णय लिनु उपयुक्त हुन्छ । वास्तवमा भन्ने हो भने मेलिना राईको यो आफूसँग मात्रको वा परिवारसँग मात्राको लडाइँ होइन । यो त हरेक नेपाली समाजको अवस्था र व्यवस्थाका विरुद्धमा गरिएको साहसिक निर्णय हो, जुन हरेक बिबाह अगाडि युवा वा युवतीले औचित्यका आधरमा निर्णय लिन सक्छन् ।
ब्यबहारिक दृस्ठिकोणबाट हेर्दा गायिका राईले चालेको कदम निकै सराहनीय छ । यदि उनले इन्गेजमेन्ट गरेपछि बिबाह गर्नैपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै विभिन्न असन्तुष्टिको बाबजुद बिबाह गरेको भए उनले समाजको मान्यतालाई त पूरा गर्थिन् तर स्वयम् खुशी हुन सक्दिन थिइन् । यसर्थ पनि इन्गेजमेन्ट गरेपछि पनि आफूले चाहेजस्तो, मन मिल्ने मान्छे नभएको खण्डमा अस्वीकार गर्न जो कोहीले सक्नुपर्दछ। पुरातनवादी सोचले व्याप्त नेपाली समाजमा गायिका मेलिना राईले चालेको यस कदमलाई एक साहस र झुझारुपन भन्दा पनि अनुपयुक्त नहोला ।
सञ्जीव बराइलीले पनि मेलिनाले एक अर्काको भावना नमिलेको भन्दै इन्गेजमेन्ट तोडेको विषयलाई सकारात्मक रुपमा लिनुपर्दछ । बराइलीले सकारात्मक रुपमा हेर्ने मात्र नभएर यदि दुईबीच राम्रो सम्बन्ध र बुझाई नरहदा जो कोहि ले मेलिनाले चालेको कदम चाल्नुपर्दछ भनेर प्रेरित गर्नुपर्दछ । दुईबीच सम्बन्ध सहि ढंगबाट अगाडि बढ्न नसक्ने हुँदा बराइलिले पनि राईले चालेको कदम चाल्नुपर्ने हो । तर उनले सो कदम चालेनन् वा त्यो भन्दा अगाडि मेलिनाले चालिन् । छोरी मान्छे भनेर अलग दृस्ठिकोणले हेरिने नेपाली समाजको परबाह नगरी आँखा चिम्लेर आफ्नो उज्ज्वल भविस्यको लागि कदम चाल्ने मेलिना यसै कोणबाट हेर्दा पनि साहसिक हुन् भन्ने पुष्टि हुन्छ ।
अब उनलाई नराम्रो भनेर टिप्पणी गर्नुभन्दा पनि खुसी र सुखी जीवनको लागि उनले जस्तै कदम अरुलेचाल्नु सक्नुपर्दछ । कुनै कुराको पछि लागेर बेमेलको अवस्थामा पनि सम्बन्ध अगाडि बढाउनुहुन्न भन्ने मेलिनाको यो कुरा बाट सबैले सिक्नुपर्दछ । नेपाली समाजमा मेलिनाले चालेको कदम एक महिलाको लागि निकै कठिन काम हो । यहि कारणले गर्दा नेपाली समाजले महिलालाई जिन्दगीभर एउटा गलत ट्याग लगाइदिन्छ । तर मेलिना राईले समाजले आफूलाई गर्ने व्यवहार र हेर्ने देष्टिकोणको प्रवाह नगरी आफ्नो जीवनसाथी चयन गर्ने काममा मजबुद भएर निर्णय लिएकाे देखिन्छ। नेपाली समाजमा बसेर उनले आफूलाई मन नपरेकाे कुरा अस्वीकार गर्ने हिम्मत गरिन् जुन उचित, अनुचितमा बहस गर्न सिकएला तर एक साहसिक कदम हाे ।
पदम भुजेल
