काठमाडौं, २३ मंसिर । ट्री इन्टरटेन्मेन्ट प्रालिले नेपाल भाषाको गीतमा अहिलेसम्मकै महंगो मुजिक भिडियो निर्माण गरेको छ । म्यूजिक भिडियोको गीतमा अस्मीता परियार र प्रिजोल नेपालीको स्वरमा रहेको “धाये मफुत” (भन्नै सकिन) बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियो दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन ।
दिपक नेपालीको शव्द, बाबुल गीरीको संगीत तथा संगीत संयोजनमा रहेको गीतको म्यूजिक भिडियोको निर्देशन आइकल चन्दले गरेका छन् । गीतको म्यूजिक भिडियोमा देल्वीस दर्शनधारी, राज तुम्बाहाम्फे, कविता नेपाली, उशा उप्रेती, प्रथम श्रेत्री र सारिका ढकाललाई फिचर गरिएको छ ।
काठमाडौंको राइजिङ महलको यूएस सिनेमा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि किर्तीपुर नगरपालिकाका मेयर रमेश मर्हजन र नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले संयुक्तरुपमा म्यूमिक भिडियो सार्वजनिक गरेका थिए ।
म्यूजिक भिडियो सार्वजनिक गर्दै मेयर महर्जनले अहिलेको नेपाली सांगीतिक बजारमा नेपाल भाषामा कम्पनीले गरेको लगानीको प्रसंशा गरे । नायक श्रेष्ठले अहिलेको नयाँ पुस्ताले बजार सुहाउँदो गीत संगीत पस्किने गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा गायक गायिका र कलाकारले नेपाल भाषा नजान्दाको रमाईलोको खिस्सा सुनाएका थिए ।
कार्यक्रममा उपस्थित सहभागीहरुले गीतलाई नेपाली भाषामा पनि ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा बरिष्ठ गायक आनन्द कार्कीले म्यूजिक भिडियोको प्रसंशा गरे । ट्री इन्टरटेन्मेन्टका निर्देशक दिपक नेपालीले व्यवसायीक भन्दापनि आफ्नो संस्कृतिको जगेर्नाकालागि गीत तयार पारेको बताए ।
आफ्नो ब्यानरमा नेवारी समुदायको गीत तयार गर्ने धोको पुरा भएको उनले सुनाए । गीतलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यूटुव च्यालनमा सार्वजनिक गरिएको छ ।
